गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले भूकम्प पीडित परिवारका लागि १८ लाखभन्दा बढी आर्थिक सहयोग पठाएको छ।
भूकम्प प्रभावितको राहतका लागि एनसीसी हङकङले १ लाख ७ हजार ९८७ हङकङ डलर (करिब १८ लाख २७ हजार नेपाली रुपैयाँ) पठाएको अध्यक्ष गोकर्ण प्रसाद ढकालले जानकारी दिए।
सो रकम बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयमा पठाइएको हो।
जाजरकोट र रुकुमका भूकम्प पीडत परिवारलाई सहयोग जुटाउन एनसीसी हङकङले आर्थिक संकलन अभियान चलाएको प्रवक्ता विश्वनाथ घिसिङले बताए।
कोषमा पुन मगर संघ हङकङ, हङकङ नेप्लिज माइनोरिटिज अर्गनाइजेसन, मगर एसोसिएसन हङकङ, सप्तरङ्गी महिला समूह हङकङ र केही चिनियाँ नागरिकले समेत सहयोग गरेका थिए।
आर्थिक संकलनमा युवा संयोजक इन्दर पुन र महिला संयोजक कविता गुरुङले विशेष भूमिका निर्वाह गरेका थिए।
भूकम्पलगत्तै संघको केन्द्रीय समितिले पहिलो चरणमा जाजरकोट र रुकुममा खाद्यान्न, त्रिपाल, लत्ताकपडा, औषधिलगायतका राहत सामाग्री वितरण गरेको थियो।
संघका केन्द्रीय महासचिव गौरीराज जोशीले हङकङबाट १८ लाखभन्दा बढी रकम प्राप्त भएको जानकारी गराउँदै अन्य एनसीसीबाट पनि रकम आउनेक्रम जारी रहेको बताए।