दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका दुई युवकका आफन्तले सडक अवरुद्ध गरेका छन्। न्याय नपाएको भन्दै घोराहीमा आज(आइतबार) बिहानै टायर बालेर सडक अवरुद्ध गरेका हुन्।
शुक्रबार साँझ घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेका प्युठान झिम्रुक गाउँपालिका ४ बाङ्गे बस्ने बर्ष १७ का बिशाल जिसी र नौबहिनी गाउँपालिका ६ लुङ बस्ने बर्ष १८ का सागर केसीको टिप्परको ठक्करबाट मृत्यु भएको थियो।
मृत्युु भएपछि पीडित परिवारले उचित क्षतिपूर्ति, काजकिरिया खर्च तथा मोटरसाईकल नयाँ पाउनुपर्नेलगायत माग राखेका छन्। उक्त माग सम्बन्धित पक्षले बेवास्ता गरेपछि सडक आन्दोलनमा आउनु परेको मृतकका आफन्तको भनाइ छ।
टिप्पर व्यवसायी र पीडित पक्षबीच शनिबार दिनभर वार्तासमेत भएको थियो। वार्ता सफल हुन नसकेपछि आज घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गर्ने पीडित पक्षले चेतावनी दिएको छ।