भन्सार विभाग घेर्न पुगेका आजपाका कार्यकर्तामाथि प्रहरीकाे लाठीचार्ज, २ जना घाइते 

आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै काठमाडौँको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएकोमा आज प्रहरीले लाठीचार्ज गरेको छ।

प्रहरीको लाठीचार्जबाट दुई जना आन्दोलनकारी घाइते भएका छन्। आफूहरुको शान्तिपूर्ण धर्ना तथा घेराउ कार्यक्रममा प्रहरीले अवरोध गर्न खोजेपछि झडपको अवस्था आएको धर्नामा सहभागी भएकाले बताएका छन्।

भन्सार विभागको मूल गेटसम्म पुग्न नदिई धर्ना कार्यक्रममा अवरोध गर्न खोजेपछि आन्दोलनकारी आक्रोशित बनेका थिए। शान्तिपूर्ण धर्नामा अवरोध गरेपछि प्रहरीका विरुद्धमा उनीहरुले नारासमेत लगाए।

आजपा केन्द्रीय सदस्य एवं भन्सार कानुन सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले प्रहरीले आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न खोजेको आरोप लगाइन्।

प्रहरीको लाठीचार्जबाट रञ्जुकुमार साह, शारदा साह घाइते भएका छन्। प्रहरीको लाठीचार्जले रञ्जुको खुट्टा र घाँटी तथा शारदाको नाक, हातमा चोट लागेको छ।

आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहले आफूहरुको शान्तिपूर्ण आन्दोलन निरन्तर जारी रहने बताए। प्रहरीले शान्तिपूर्ण आन्दोलनमा अवरोध गर्न खोजेपछि आजको कार्यक्रममा झडपको अवस्था आएको बताउँदै उनले प्रहरीको चाठीचार्जबाट आन्दोलनकारी घाइते भएको बताए।

आफूहरुको चरणबद्ध आन्दोलन जारी नै रहेको भए पनि सरकारले माग सम्बोधनमा ढिलाई गरेकोप्रति समितिका संयोजक साहले दुख व्यक्त गरेकी छन्। सरकारले आफूहरुको माग सम्बोधन गरेसम्म शान्तिपूर्ण आन्दोलन अगाडि बढिरहने उनले बताइन्।

भन्सारमा हुने गरेको लुट एवं भ्रष्टाचारको विरुद्ध विभिन्न माग गर्दै भन्सार विभाग कार्यालयमा धर्ना तथा घेराउ हुँदै आएको छ। कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति, सवारीसाधन एवं सम्पत्ति जफत गर्ने प्रावधान हटाउनुपर्ने माग आन्दोलनकारीको छ।

यसैगरी भन्सारबाट उठेको राजश्व रकमबाट २५ प्रतिशत रकम सम्बन्धित प्रदेशलाई र २० प्रतिशत रकम सम्बन्धित पालिकालाई दिने व्यवस्था गर्नुपर्ने, घरायसी प्रयोजनको लागि ल्याइने वस्तुमा भन्सार कर लगाउँने व्यवस्थाको अन्त्य हुनुपर्ने माग उनीहरुले गरेका छन्।

आजपा प्रवक्ता चन्द्रभुषण साहले आफूहरुको माग सम्बोधनमा ढिलाई भए यो भन्दा कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन्।

आजपाले गत ३१ भदौमा भन्सार विभागका महानिर्देशकमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएर शुरू गरेको संघर्षको पहिलो चरणअतर्गत गत ३ असोजमा पत्रकार सम्मेलन, १८ असोजमा नियमावलीको गलत प्रवाधान जलाइएको, १९ असोजमा तराई–मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१–२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरेको थियो।

तर सरकारले आफ्नो मागको कुनै सुनुवाइ नगरेपछि बाध्य भएर पुनः थप संघर्षको कार्यक्रम अगाडि बढाउनुपरेको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।

प्रकाशित मिति: : 2023-12-21 17:38:00

प्रतिकृया दिनुहोस्