चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

बिएल संवाददाता

मध्यविन्दु (नवलपरासी)
File Photo
File Photo

चिसो बढ्दै जाँदा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ।

मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन्। उनीहरु दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ।

स्थानीय शान्ति मुसहरले भनिन्, ‘जाडोमा न लगाउने न्यानो कपडा छ, न पेटभरि खाने अन्न। जाडो छल्न घामको पार ताप्नु परेको छ।’ ब्लकले बनाएको सानो घरमा न ढोका छ न त झ्याल।

‘घरमा ओड्ने ओछ्याउने छैन, पराल ओछ्याएर सुतेका छौँ, श्रीमान्ले काम पाउनुभएको छैन’, उनले भनिन्, ‘यो चिसोमा बिहान बेलुकाको छाक टार्न पनि मुस्किल भएको छ।’ झुप्रो घरभित्र परालमा सुतेर रात कटाउने शान्ति जस्तै यहाँ धेरै छन्।

स्थानीय जितनी माझी उमेरले ६५ वर्ष पुगिन्। अहिले काम नभएपछि अन्न र लत्ताकपडा किन्ने पैसा नभएको उनले बताइन्।

‘पेटभरि खान नपाएको छैन, जाडोमा केटाकेटीले छिनछिनमै खान खोज्छन्, तर खानदिने अन्न छैन’, उनले भनिन्, ‘मजदुरी गर्न काम पाइएको छैन, कति दिन भइसक्यो एक छाक खान्छौँ।’

देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले मुसहर बस्तीमा लत्ताकपडा र खाद्यान्न तत्काल व्यवस्था गर्ने जानकारी दिए।

उनले भने, ‘केही लत्ताकपडा, खाद्यान्न नगरपालिकाको तर्फबाट तत्काल व्यवस्था गर्छाैँ। ती समुदायको आर्थिक स्तर माथि उठान नगरपालिकाले विभिन्न कार्यक्रम कार्यान्वयन समेत गर्ने छ।’

प्रकाशित मिति: : 2023-12-28 10:19:00

प्रतिकृया दिनुहोस्