अर्घाखाँचीको नरपानीमा बढ्न थाले पर्यटक

बिएल संवाददाता

अर्घाखाँची
तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

नरपानी चिसो हावा र चिसो पानीका कारण प्रशिद्ध छ। यहाँको मौसम बाह्रै महिना चिसो हुन्छ। यहाँबाट हिमाल र पहाडको मनमोहक दृश्य देख्न पाइने भएकाले भारतबाट समेत पर्यटक आउने गरेका छन्।

मनोरम दृश्यले भरिपूर्ण नरपानी केही वर्षयता बनभोजस्थलका रुपमा विकसित हुँदै गएको छ। नरपानीमा कपिलबस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिक हजारौँ सङ्ख्यामा मानिस आउने गरेका छन्।

विशेष गरी बिदा र शनिबारका दिन यहाँ झण्डै ५० देखि एक सय वटा समूह आउने गरेको सन्धिखर्क नगरपालिका वडा–६ का अध्यक्ष श्रीधर महत्रा क्षेत्रीले बताए।

नरपानी कपिलबस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दुरीमा पर्छ। नरपानीमा हाल गङ्गा सरोवर निर्माण गरी पर्यटकलाई डुङ्गा सयर गराउने उद्देश्यले नगरपालिकाले  योजना बनाएको छ। गङ्गा सरोवरमा नेपाली झण्डा राख्ने र अन्य संरचना निर्माण भइरहेको नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।

नजिकैको प्रसिद्ध सुपा देउराली मन्दिरमा बलीका रुपमा पाठापाठी चढाउने र यसरी बली दिइएका पाठापाठी नरपानीमा बसेर प्रसाद खाने चलन रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठको भनाइ छ। विशेष गरी मनोकामना पूरा हुने विश्वासका सुपा देउरालीमा पाठापाठी भाकल गर्ने चलन छ।

मन्दिरमा हाल दैनिक पाँच सयदेखि तीन हजारसम्मले दर्शन गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितका सचिव हरि खनालले बताए।मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेश, विहारबाटसमेत भक्तजन आउने गरेको उनको भनाइ छ। 
 

प्रकाशित मिति: : 2023-12-31 15:26:00

प्रतिकृया दिनुहोस्