प्रभु साहले गठन गरे आईटी आर्मी अर्ध सैनिक बल

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले छुट्टै आईटी आर्मी अर्ध सैनिक बल निर्माण गरेकोछ।

यही पुष १४ गते आम जनता पार्टीको स्थापना दिवसको अवसरमा आयोजित आईटी आर्मीको राष्ट्रिय भेलासहित सुरू भएको सैनिक तालिम अहिले निरन्तर जारी छ।

एक सातासम्म चलने उक्त तालिममा देशभरीका हजारौँ युवाहरु सहभागी छन। रौतहटको मौलापुरमा भइरहेको उक्त तालिममा आईटीसम्बन्धी प्रशिक्षणदेखि सैनिक अभ्याससमेत गराइएको छ।

आईटी आर्मीको प्रदेश अध्यक्ष बालाशंकर कुशवाहाले अहिलेको सूचना प्रविधिको युगमा युवाहरुलाई आईटीसम्बन्धी तालिम अत्यावश्यक रहेको बताए। उनले भने, ‘आईटी बिना देशको विकास सम्भव छैन। वैदेशिक रोजगारीमा भईरहेको ठगी रोक्न, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण अपरिहार्य आवश्यकता भइसकेकोले यो तालिम गर्न लागेको हाे।’

यो तालिमपछि आईटी आर्मीका युवाहरुले देशमा बढ्दो संकट रोक्न सकारात्मक योगदान गर्ने उनले बताए।

आजपाले अहिलेको व्यवस्था असफल भैसकेको घोषणा गर्दै देशलाई संकटबाट बचाउन तत्काल अन्तरिम सरकार गठनको माग गर्दै आएको छ।

आजपाका अध्यक्ष प्रभु साहले तत्काल अन्तरिम सरकार गठनमा सुरक्षा निकायको भूमिका सहयोगी हुने बताए। यदि सुरक्षा अधिकारीहरु देशको संकटबारे चिन्तित भएन र पार्टीको लुटतन्त्रलाई चोखयाउन नै लागे भने अब आईटी आर्मीले नेपालको मुख्य सैनिक फोर्सको काम गर्ने उनले जनाएका छन्।

‘ढिलो चाँडो नेपाली सेनाका जवानहरुले बूझनेछन र देश निकासको लागि आईटी आर्मीसंग सहकार्य गर्नेछ। यही तरिकाले अब देश अघि बढ्न सक्दैन, आईटी आर्मीले देशको निकासमा बिशेष सहयोगी भूमिका खेलने पक्का छ’, साहले भने।

उनले अहिलेको संविधानले पनि देश र जनतालाई निकास नदिने ठोकुवा गरेका छन्। मुलुकमा देखिएको समस्या समाधान र समृद्धिका लागि अहिलेको सरकार विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने उनले जनाएका छन्।

प्रकाशित मिति: : 2024-01-01 17:28:00

प्रतिकृया दिनुहोस्