कालिकाेटमा वडाध्यक्षमाथि जातीय विभेद, फेसबुकमा ‘ए डुम’ भन्दै गाली गरेपछि एक जना पक्राउ

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

कालिकोटको पचालझरना गाउँपालिका–२ का वडाअध्यक्ष ४१ वर्षीय करबीरे विश्वकर्मामाथि जातीय विभेद भएको छ। जातीय विभेद भएपछि स्थानीयविरुद्ध मुद्दा दर्ता भएको छ।

सोही गाउँपालिका–१ का ४४ वर्षीय गोकुल बोगटीविरुद्ध जातीय विभेदको मुद्दा दर्ता भएको कालिकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन केसीले बताए।। उनले भने, 'जातीय विभेद गर्ने बोगटी यस अघि नै पक्राउ परिसकेका छन्।' 

स्वास्थ्य चौकीको विषयलाई लिएर बदालकोट स्वास्थ्य चौकीका कार्यालय सहयोगीसमेत रहेका बोगटीले सामाजिक सञ्जाल फेसबुक र मोबाइल फोनमा वडाअध्यक्ष विश्वकर्मालाई जातीय विभेद गरेको पाइएको छ। 

वडाध्यक्ष विश्वकर्माले पुष १२ गते प्रहरीमा उजुरी दिएपछि सोमबार मुद्दा दर्ता भएको छ। प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको कालिकोटका प्रहरी प्रमुख डीएसपी केसीले बताए।

'कार्यालय सहयोगी बोगटीले फेसबुक स्ट्याटसको कमेन्ट बक्समा 'ए डुम कोमारा' भन्दै गाली गरेको र फोन कलमा घरमा बम पड्काउने र मार्ने समेत धम्की दिएको रेकर्डसहित पीडितको उजुरी आएपछि प्रहरीले घटनाका अनुसन्धानका लागि आरोपितलाई पक्राउ गरिएको छ,' उनले भने।

पीडित वडाध्यक्ष विश्वकर्माले आफूमाथि भेदभाव भएको भन्दै जातीय छुवाछूत तथा भेदभाव सम्बन्धी कसुर सजाएँ ऐन २०६८ र संशोधित २०७५ अनुसार कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका थिए। नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको मौलिक हकमा जातीय भेदभावविरुद्ध दण्डनीय व्यवस्था गरेको छ।

जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।

जनप्रतिनिधि माथि नै जातीय विभेद भएको भन्दै कालिकोटका दलित अधिकारकर्मी, मानव अधिकारकर्मीले चर्को विरोध जनाएका छन्। आरोपित बोगटीले आफूले जातीय भेदभाव गर्ने उद्देश्यले टेलिफोन र सामाजिक सञ्जालमा नभनेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: : 2024-01-01 19:59:00

प्रतिकृया दिनुहोस्