जुम्लामा शसस्त्र प्रहरी बलको नम्बर ३३ गण आफ्नै सुविधायुक्त भवनमा सरेको छ। जिल्लाका विभिन्न पाँच ठाउँमा छरिएर अस्थायी रुपमा बस्दै आएको शसस्त्र प्रहरी बलले तातोपानी गाउँपालिका- ५ मा आफ्नै स्याथी संचरना निर्माण भएको हो।
कर्णालीका साविक ५ जिल्लामा करिब ६ सय बढी दरबन्दी रहेको शसस्त्र प्रहरीको बलको ३ सय जना शसस्त्र प्रहरी जुम्लामा कार्यरत छन्। स्थापनाकालदेखि आफ्नै स्थायी भवन नहुँदा जिल्ला प्रशासन कार्यालय, एयरपोर्ट, महिला विकास कार्यालय, कर्मचारी आवासलगायतका स्थानमा छरिएर अव्यस्थित रुपमा शसस्त्र प्रहरी बस्न बाध्य थियो।
नेपालमा शसस्त्र प्रहरी बलको २०५७ सालमा गठन भएपनि जुम्लामा २०७२ सालदेखि सुरक्षा बेसका रुपमा रहेको र २०७५ साल जेठ २७ को सरकारको निर्णयनुसार शसस्त्र प्रहरी बल नेपाल नं.३३ गण हेटक्वाटर त्रिपुरा जुम्ला नामाकण भएको हो। यो करिब एक दशकको अवधिभर शसस्त्र प्रहरी आफ्नो संरचनाविहीन थियो।
सहज रूपमा बस्ने र सुत्न ठाउँ त परै जावस नियमित अभ्यास गर्ने फराकिलो स्थानसमेत थिएन। डेढ दशकदेखि सशस्त्र प्रहरी नियमित अभ्यासबाट समेत बञ्चित थिए। संरचना अभावले नियमित बिहान हुने पिटी, साँझ हुने रोलकाललगायतका अन्य अभ्यास हुन सकेका थिएनन्।
डेढ दशकदेखि जुम्लाको शान्ति सुरक्षामा खटिएको ‘सशस्त्र प्रहरी बल नम्बर ३३ गण हेडक्वार्टर त्रिपुरा जुम्ला’को हालसम्म आफ्नो ब्यारेक नहुँदा थुप्रै समस्या झेल्न बाध्य थियो।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंलगायतका प्रतिनिधिको सहयोग र शसस्त्र प्रहरीका एसपी चेतराज जोशीको अग्रसरताले तातोपानी गाउँपालिका वडा नं. ५ मा २० हजार ४५ वर्ग मिटर जग्गा नि:शुल्क प्राप्त भएपछि भवन निर्माण प्रक्रिया थालिएको थियो।
संघीय सरकारबाट बजेट सुनिश्चित भएपछि २०७९ मा सम्झौता भई ०८० पुस १७ गते निर्माण सम्पन्न हुने सम्झौताअनुसार निर्माणको ठेक्का पाएको (ओम बज्रहरी जेभी) कम्पनीले निर्धारित ११ महिनामै काम सम्पन्न गरेको छ। गत आवको फागुन २५ गते शिलन्यास भएको भवन चालु आवको असोज २५ गते हस्तान्ततरण भएको थियो। कार्यालय भवन, जवान ब्यारेक, जवानको क्वार्टर गार्ड र गणपति निवासलगायतका सबै संरचना निर्माण भएर समेत शसस्त्र प्रहरी सदरमुकाम खलंगाबाट नवनिर्मित भवनमा समेत सरीसेको छ।
तातोपानीमा नवनिर्मित सुविधायुक्त भवनको शनिबार शसस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले उद्घाटन गरेका छन्। शसस्त्र प्रहरी महानिरिक्षक अर्यालले छरिएर रहेको शसस्त्र प्रहरीलाई स्थायी संरचना निर्माणका लागि सहयोग गर्नेप्रति कृतज्ञता व्यक्त गरे।
‘बद्ढो परिवेश, भूराजनीति, सहरीकरण, जनसंख्या वृद्धिसँगै सुरक्षा चुनौती बढ्दो छ। यी चुनौतीहरुको सामना गर्दै शसस्त्र प्रहरी शान्ति सुरक्षामा तैनाथ छ,’ उनले भने, ‘समायनुकुल शसस्त्र प्रहरीले आफ्नो सेवालाई विस्तार गर्नु पनि जरुरी छ। स्थायी बसोबास गरेको शसस्त्र प्रहरीले जुम्लाको शान्ति सुरक्षामा विशेष जोड दिने अपेक्षा छ।’
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले देश जनताको रक्षा गर्ने सुरक्षाकर्मी सर्वप्रथम आफैँ सुरक्षित भएमात्र देशको शान्ति सुरक्षा मजबुद हुने बताए।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले विभिन्न कठिनाइका बिच शसस्त्र प्रहरीको गण तातोपानीमा स्थापना गर्न सफल भएको बताए। भवन अभावमा वर्षौँ बिताए पनि अब आफ्नै सुविधायुक्त भवनबाट नागरिकको रक्षाका लागि खट्ने आशा व्यक्त गरे।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे सम्झौता बमोजिम निर्धारित समयमै शसस्त्र प्रहरीको भवन निर्माण भएपछि सरकारी विकास पनि निर्धारित समयमै हुँदो रहेछ भन्ने सन्देश प्रवाह भएको बताए। स्थायी संरचना पछि अब शसस्त्र प्रहरी ढुक्कले नागरिकको सुरक्षामा खटिने विश्वास व्यक्त गरे।