जहाज कुर्दाकुर्दै बाजुराको कोल्टी विमानस्थलमा एक महिलाको ज्यान गएको छ। हुम्लाको ताजाँकोट गाउँपालिका -५ की २३ वर्षीया अंशु बुढाको मृत्यु भएको हो।
दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निःशुल्क हवाई उद्दार कार्यक्रम लागू भएको भए पनि समयमै उद्दार नहुँदा उनको विमानस्थलमै मृत्यु भएको हो।
'राष्ट्रपति महिला उत्थान कार्यक्रम' अन्तर्गत आर्थिक वर्ष २०७५-७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई निःशुल्क हवाई उद्दार गरी तोकिएको अस्पतालमा पुर्याएर गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको छ।
तर, समयमै सरकारी निकायबीच समन्वय नहुँदा सुत्केरी भएको १३ दिनपछि रक्तअल्पताले थलिएकी बुढाको समयमै उपचार हुन नसकेपछि ज्यान गएको हो। थप उपचारका लागि लैजान उनलाई आइतबार कोल्टी विमानस्थल पुर्याइएको थियो।
तर, समयमै जहाज नपुगेपछि उनको सोमबार मृत्यु भएको हुम्लाका प्रदेश सांसद रणसिंह परियारले जानकारी दिए।
'रक्तअल्पताले थलिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि आइतबार थप उपचारका लागि नेपालगन्ज लैजान कोल्टी पुर्याइएको रहेछ। सोमबार कोल्टीमा कुनै पनि हवाई उडान भएन,' सांसद परियारले भने, 'अबेर भएका कारणले सेनाको हेलिकप्टर जान सकेन। उहाँको मृत्यु भएको खबर हिजो बेलुका अबेर पाएँ।'
दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू निःशुल्क हवाई उद्दार कार्यक्रम भएको र त्यसबाट उनको उद्दार गर्न सकिने अवस्थामा खबर ढिलो हुँदा बुढाको ज्यान गएको सांसद परियारले जानकारी दिए।