बलात्कार मुद्दामा दाेषी ठहर भएका सन्दीपलाई सजाय तोकिँदै: कति वर्ष होला कैद सजाय?

बलात्कार मुद्दामा दाेषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज (बुधबार) सजाय ताेकिँदैछ।

पुस १३ काठमाडाैँ जिल्ला न्यायाधीश शिशिराज ढकालकाे इजलासले सन्दीपले एक किशाेरीकाे नाजुक आर्थिक अवस्थाकाे फाइदा उठाएर बलात्कार गरेकाे ठहर गरेकाे थियाे।

ढकालकाे इजलासले सन्दीपले बलात्कार गरेकाे ठहर गरे तापनि त्यसदिन सजाय भने ताेकेकाे थिएन। इजलासले सजाय ताेक्न पुस २५ गते अर्थात् आजका लागि पेशी राख्न आदेश दिएकाे थियाे। साेहीअनुसार आज सन्दीपलाई सजाय ताेकिने छ।

बलात्कार मुद्दामा न्यूनतम सातदेखि अधिकतम १० वर्ष कैद सजाय हुने कानुनी व्यवस्था रहेकाे छ। यसअघि नै उनी उच्च अदालतबाट धराैटीमा छुटेका थिए। धराैटीमा छुटेकाे र १० वर्षभन्दा कम कैद सजाय ताेकिएकाे व्यक्तिलाई कारागार बाहिरै बसेर जिल्ला अदालतकाे फैसलाविरुद्ध माथिल्लाे अदालतमा मुद्दा लड्न पाउने अधिकार कानुनले दिएकाले उनी बाहिरै रहेर मुद्दा लड्न पाउँने बताइएको छ।

सन्दीप काठमाडाैँ जिल्ला अदालतबाट बलात्कार मुद्दामा दाेषी ठहर भएपनि नेपाल क्रिकेट संघ (क्यान)ले भने उनीमाथि कुनै कारबाही गरेका छैन। क्यानका सचिव पारस खड्काले सजाय ताेकिएपछिमात्र सन्दीपकाे कारबाही प्रक्रिया अगाडि बढाइने बताएका थिए। 

सन्दीपले गत वर्ष भदाैमा काठमाडाैँकाे गाैशालास्थित एक हाेटलमा एक किशाेरीलाई बलात्कार गरेका थिए। किशाेरीकाे उमेर विवादका कारण मुद्दाकाे फैसला हुन लामाे समय लागेकाे थियाे।

प्रकाशित मिति: : 2024-01-10 08:25:00

प्रतिकृया दिनुहोस्