बलात्कार मुद्दामा दाेषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको कसूर सजाय निर्धारणमा बहस सकिएको छ।
काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा बुधबार सजाय निर्धारणका लागि भएकाे बहस सकिएकाे हाे।
बहस सकिएकाले केहीबेरमै सजाय निर्धारण हुने बताइएकाे छ।
पुस १३ काठमाडाैँ जिल्ला न्यायाधीश शिशिराज ढकालकाे इजलासले सन्दीपले एक किशाेरीकाे नाजुक आर्थिक अवस्थाकाे फाइदा उठाएर बलात्कार गरेकाे ठहर गरेकाे थियाे।
ढकालकाे इजलासले सन्दीपले बलात्कार गरेकाे ठहर गरे तापनि त्यसदिन सजाय भने ताेकेकाे थिएन। इजलासले सजाय ताेक्न पुस २५ गते अर्थात् आजका लागि पेशी राख्न आदेश दिएकाे थियाे। साेहीअनुसार आज सन्दीपलाई सजाय ताेकिने छ।
बलात्कार मुद्दामा न्यूनतम सातदेखि अधिकतम १० वर्ष कैद सजाय हुने कानुनी व्यवस्था रहेकाे छ। यसअघि नै उनी उच्च अदालतबाट धराैटीमा छुटेका थिए। धराैटीमा छुटेकाे र १० वर्षभन्दा कम कैद सजाय ताेकिएकाे व्यक्तिलाई कारागार बाहिरै बसेर जिल्ला अदालतकाे फैसलाविरुद्ध माथिल्लाे अदालतमा मुद्दा लड्न पाउने अधिकार कानुनले दिएकाले उनी बाहिरै रहेर मुद्दा लड्न पाउने बताइएको छ।
सन्दीपले गत वर्ष भदाैमा काठमाडाैँकाे गाैशालास्थित एक हाेटलमा एक किशाेरीलाई बलात्कार गरेका थिए। किशाेरीकाे उमेर विवादका कारण मुद्दाकाे फैसला हुन लामाे समय लागेकाे थियाे।