बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ।
बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका– ५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने नौजना घाइते भएका थिए। घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए।
अन्य छ जना घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
दुर्घटनामा जीप चालक ढोरपाटन नगरपालिका- ४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीया सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो। जीपकोे ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।