राम मन्दिरको प्राण-प्रतिष्ठा: नेपालगञ्जका विद्यालयमा ‘छुट्टी’

File Photo
File Photo

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा भइरहँदा नेपालगञ्ज उप-महानरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयहरूमा बिदा दिने घोषणा गरेको छ।

नेपालगञ्ज उपमहनगरका मेयर प्रशान्त विष्टले एउटा सूचना निकाल्दै राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सबै हिन्दु धर्मावलम्बीहरूलाई शुभकामना दिँदै विद्यालयहरूमा छुट्टीको घोषणा गरेका हुन्।

‘भारतको अयोध्यास्थित श्री राम मन्दिरमा २०८० माघ ८ गते (भोलि) हुने प्राण प्रतिष्ठाको अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुमा हार्दिक शुभकामना’ उनले भनेका छन्, ‘सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता कायम राख्दै यसलाई सभ्य र भब्य तरिकाले हर्षोल्लासका साथ सफल पारौँ। साथै यस अवसरमा नगरभित्रका सम्पूर्ण निजी, धार्मिक तथा सामुदायिक विद्यालयहरुमा भोलि एक दिन पठनपाठन बन्द रहने जानकारी गराइन्छ।’

सोमबार नेपालगन्जमा विभिन्न धार्मिक कार्यक्रमहरूको आयोजना पनि गरिएका छन्।

जनवरी २२ (सोमबार)का दिन अयोध्यास्थित भव्य राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको प्राण प्रतिष्ठा गर्न लागेका हुन्।

त्यस्तै मदिरा व्यवसायी संघ बाँकेले सोमबारका दिन मदिरा बिक्री वितरण नगर्न आफ्ना सदस्यहरुलाई सूचित गरेको छ।

संघले सोमबार भारतको अयोध्यास्थित राम मन्दिरमा हुने प्राण प्रतिष्ठालाई लिएर नेपालगन्जमा पनि धार्मिक कार्यक्रमहरु आयोजना हुने भएकाले जिल्ला प्रशासन कार्यालय बाँकेको विशेष अनुरोधमा मदिरा बिक्री नगर्न सदस्यहरुलाई आह्वान गरेको हो।

प्रकाशित मिति: : 2024-01-21 14:31:00

प्रतिकृया दिनुहोस्