अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आठ करोड ३३ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ। सन् १९८८ मा न्युयोर्कको एक स्टोरमा लेखिका इ. जीन क्यारोललाई बलात्कार गरेको अभियोग अस्विकार गर्दै झुट बोलेर उनको मानमर्दन गरेको ठहर गर्दै ट्रम्पलाई यो जरिवाना तोकिएको हो।

आज शुक्रबार न्युयोर्कको म्यानहट्टनस्थित अदालतमा न्यायाधीश लेविस कप्लानले नौसदस्यीय जुरीको यो निर्णय सुनाएका हुन्। निर्णय सुनाएको बेला अदालतको इजलाश कक्षमै रहेकी लेखिका क्यारोलले संसारभरकै बुल्लीहरूका लागि यो ठूलो पाठ भएको बताइन्। उनले अगाडि भनिन्, 'महिलाको अस्मितामाथि खेलवाड गर्नेका लागि यस्तै हुनुपर्ने थियो र भयो पनि।' 

तर, डोनल्ड ट्रम्पले भने फैसला आफू र रिपब्लिकन पार्टीबिरूद्ध चलाइएको राजनीतिक प्रतिशोध भएको बताउँदै न्यायालयको फैसला हाँस्यास्पद भएको बताए। अदालतको निर्णय अस्विकार गर्ने बताउँदै  उनले भने, 'तत्कालै निर्णयविरूद्ध उच्च अदालतमा पुनरावेदन गरिने छ।'

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति उम्मेद्वारको अग्रिम पंक्तिमा रहेका ट्रम्पका लागि यो अदालती हार आफैंमा एक ठूलो झड्का भएको छ। यसबाट नैतिक रूपमा त उनीमाथि प्रश्न उठेको छ नै, आर्थिक रूपमा पनि ८ करोड ३३ लाख डलर निक्कै ठूलो रकम तिर्नुपर्ने भएको छ। 

यद्यपि, यनी पुनरावेदनमा जाने भएकाले तत्कालै यो रकम तिर्नु पर्दैन । तर, सुरूको अदालतमा यो मुद्दा जे जसरी अगाडि बढेर फैसला भएको छ, त्यो हेर्दा उनले ढिलो चाँडो तिर्नैपर्ने एकथरि कानुनविदहरू बताउँछन्। तर, अर्कोथरि कानूनविदहरू भने यो रकम ज्याँदै ठूलो भएको बताउँदै यसमा पूर्वाग्रह पनि भएको धारणा राख्छन्। उनीहरूका अनुसार यति ठूलो जरिवानाका लागि ट्रम्पले अदालतमा देखाएको व्यवहार र उनले निरन्तर रूपमा सार्वजनिक गरेको धारणा पनि जिम्मेवार रहेको छ ।

प्रकाशित मिति: : 2024-01-27 05:14:00

प्रतिकृया दिनुहोस्