जुम्लाको चन्दननाथ नगरपालिका -१० स्थित बोहरागाउँमा आयुर्वेद स्वास्थ्य केन्द्र मार्फत सेवा उपलब्ध हुँदै आएको छ। भनिन्छ एलोपेथिक ओैषधिले समेत निको गर्न नसकेका कयौं रोग आयुर्वेद प्रणालीबाट निको हुन्छ। आयुर्वेदिक ओैषधिको कुनै साइड इफेक्ट हुँदैन। त्यसैले आयुर्वेदिक उपचार पद्धतिमा संसारभर आकर्षक बड्दो छ।
पुरानो युगले नयाँ युगको सेवा गर्छ भन्ने चिनियाँ उखानले आयुर्वेदिक उपचार पद्धतिको प्रतिनिधित्व गर्छ। जल, जमिन र जंगल भएको क्षेत्र अथाह जडिबुटीको भण्डार हो। तीनै जडिबुटीबाट सिधै ओैषधि बनाएर उपचार गर्न सकिन्छ। यसलाई आयुर्वेदिक उपचार पद्धति भनिन्छ। समय अनुसार यसमा आधुनिकीकरण भइरहेको छ। वर्तमान परिवेशमा आयुर्वेदिक उपचार पद्धतिप्रति मान्छेको रुचि बढ्नाले ओैषधिको मूल्य समेत महंगो हुँदै गएको छ।
तर जुम्ला स्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा सम्पूर्ण खालको ओैषधि नि:शुल्क उपलब्ध गराइने हुँदा बिरामीको आकर्षण बढ्दैछ। कमजोर आर्थिक अवस्था भएको ठाउँमा यत्तिको सुविधा र नि:शुल्क ओैषधि पाउँदा धेरैजना मख्ख परेका छन्। ल्याब सेवा समेत नि:शुल्क रुपमा उपलब्ध गराउँदै आएको आयुर्वेद स्वास्थ्य केन्द्रको भवन भने जीर्ण बनिसकेको छ। डराई डराई सेवा दिनुपर्ने स्थिति रहेको कार्यालय प्रमुख नन्द प्रसाद न्याैपानेले बताए।
कारण मुख्य कार्यालय रहेको ठाउँमा भने समस्यामूलक छ। कच्ची संरचनाबाट अस्पताल चलाउन परिरहेको छ। कार्तिक १७ गते आएको भूकम्पले गर्दा घर चर्किएको छ। तथापि पनि अस्पताल नियमित रुपमा चलाउनुपर्ने बाध्यता छ।
उनले भने, 'त्यहीँबाट सबै प्रकारका सेवा सबै प्रकारका दिइरहेका छौं। दिसा, पिसाप, रगत, खकार सबैको चेक जाँच नि:शुल्क हुन्छ। योग, ध्यान, प्रणायामका लागि जनशक्ति छ।'
झट्ट हेर्दा अस्पताल जस्तो नदेखिने आयुर्वेद स्वास्थ्य केन्द्रले कयौं समस्याका बाबजुद पनि बिरामीलाई उत्कृष्ट सेवा दिइरहेको छ। महंगा आयुर्वेद ओैषधि समेत नि:शुल्क उपलब्ध गराउने स्वास्थ्य केन्द्रलाई कहिलेकाहीँ ओैषधि खरिद गर्न समेत समस्या पर्ने गरेको केन्द्रका प्रमुख न्यौपानेले बताए।
'अहिले चिसोका कारण धेरै बिरामी गाउँमा छैनन्। तराई झरेका छन्। तथापि दैनिक २५-३० जना सम्म बिरामी सेवा लिन आइरहेका छन्,' उनले भने, 'एक जना बिरामीलाई एक हजार सम्मको ओैषधि नि:शुल्क उपलब्ध गराउँदै आएका छौं। बिरामी हरेक वर्ष बढिरहेका छन्। ओैषधि खरिदका निम्ति आउने बजेट भने हरेक वर्ष घटिरहेको छ।'
उनका अनुसार अघिल्लो वर्ष ओैषधि खरिदका निम्ति २० लाख बजेट आएकोमा यो वर्ष आठ लाख मात्रै आएको छ। गर्मी सिजनमा बिरामी बढ्छन्। ओैषधि उपलब्ध गराउन नसकिने स्थिति छ।
सबै पालिकामा नागरिक आरोग्य केन्द्र छन्। तिला र तातोपानी गाउँपालिकाका आफ्नै नागरिक आरोग्य केन्द्र छन् भने हिमा गाउँपालिकाले पनि निर्णय गरेर नागरिक आरोग्य केन्द्र बनाउँदैछ। गुठीचौर, पातारासी र सिंजा गाउँपालिकामा स्थापना गरिएका नागरिक आरोग्य केन्द्र आयुर्वेद स्वास्थ्य केन्द्रको मातहतमा रहेको प्रमुख न्यौपानेले बताए।
'हाम्रो आफ्नो पञ्चकर्म कार्यालय पनि छ। चन्ददनाथ नगरपालिका वडा नम्बर -५ मा वृद्धहरुका निम्ति भनेर आयुर्वेद ओैषधिको मेडिकल समेत छ,' उनले भने, 'नगरका सबै वडा सरकार सकारात्मक भएको हुनाले त्यहाँबाट वृद्धवृद्धालाई ओैषधि नियमित रुपमा उपलब्ध गराउन सकिनेछ।'
'सरकारले नै अब सरकारी कर्मचारीहरु काममा लाग्नु भन्दा अगाडि १५ मिनेट अनिवार्य योग गर्नु भनेर सर्कुलर गरेको छ। योग, ध्यान, प्रणायाम पछिको सेवा मुस्कान सहितको हुन्छ,' प्रमुख न्यौपानेले भने, 'त्यसैले हामीले योग सप्ताह मनायौं। अब लगातार एक महिनासम्म योग सिकाउने तयारी गरिरहेका छौं। प्रत्येक दिन टुँडिखेलमा योग गर्न थालिएको छ। योग सप्ताहलाई विस्तार गरेर योग मास चलाइएको छ।'
आयुर्वेद स्वास्थ्य केन्द्रले महत्त्वपूर्ण निर्णय गर्नलाई व्यवस्थापन समिति रिक्त छैन। सामाजिक विकास मन्त्रालयले पठाएको प्रतिनिधि व्यवस्थापन समितिको अध्यक्ष हुने प्रावधान छ। तर पछिल्लो समय व्यवस्थापन समितिले पूर्णता नपाउँदा समस्या थपिएको प्रमुख न्यौपानेको भनाइ छ।