काठमाडौंबाट बाजुरा जाँदै गरेको बस सुनवलमा टिपरसँग ठोक्किँदा १७ जना घाइते

पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन्।

घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर छ। अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन्।

बिहीबार राति पौने १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ गैरेपेट्रोल पम्प नजिकै काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प्र.प ०१-००१ ख ३४८० नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारीका अनुसार बसमा सवार ३५ जनामध्ये चालकसहित १७ जना घाइते भएका छन्। ६ जना डिस्चार्ज भइसकेका छन्। अस्पतालमा उपचाररत बाँकी ११ जनामध्ये एकजना सिरियस छन्। उनको टाउकोको अपरेसन गर्नुपर्ने भनिएको छ।

घाइतेहरुको देवदह मेडिकल कलेज भलुही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। टिपर चालक सुनवल–१० गैंडाखाल बस्ने अन्दाजी २८ वर्षीय सुनिल दर्जी प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित मिति: : 2024-02-02 09:33:00

प्रतिकृया दिनुहोस्