कानुनी सहजतातिर जुम्लाको तातोपानी गाउँपालिका 

तातोपानी गाउँपालिकाको १४औँ गाउँसभा सम्पन्न भएको छ।

गाउँसभाले विभिन्न ८ वटा ऐन तथा कार्यविधिहरु पारित गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ वडाका अध्यक्ष अमर बहादुर रोकायाले बताए।

उनका अनुसार १४औँ गाउँसभाले भू-उपयोग कार्यान्वयन कार्यविधि, २०८०, भूमि व्यवस्थापन ऐन, २०८०, दिवा खाजा सञ्चालन तथा व्यवसथापनसम्बन्धी कार्यविधि, २०८०, एमबीबीएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि, २०८०, गरिबी निवारण कोष व्यवस्थापन कार्यविधि, २०८०, तातोपानी गाउँपालिकाको नक्सा पाससम्बन्धी कार्यविधि, २०८०, सडक आश्रित सहयोगापेक्षी मानव उद्धार पुन:स्थापना तथा व्यवस्थापन कार्यविधि, २०८० र स्थानीय तह युवा विकास समिति नियमावली, २०८० पारित गरेको हो।

ऐन तथा कार्यविधि पारित नहुँदा पालिकाको नीति कार्यान्वयनमा कठिनाइ आएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए।

'अब हामीलाई निकै सहज हुनेछ। तातोपानी सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने कानुनी जटिलतन पन्छिएको छ,' उनले भने, 'सहजताका लागि पारित गरिएका ऐन तथा कार्यविधि तुरुन्तै कार्यान्वयन हुनेछन्।'

१४औँ गाउँसभापछि तातोपानी गाउँपालिकालाई नीतिगत समस्या नपर्ने उपाध्यक्ष रेवती रावलले बताइन्। उनले भनिन्, 'काम गर्दै जाँदा जटिलता आएपछि हामीले ऐन तथा कार्याविधि पारित गरेका हौँ।'

१४औँ गाउँसभा सकिएसँगै तातोपानी गाउँपालिका कानुनी सहजताको बाटो लम्किएको प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताए।

'काम गर्दै जाँदा ऐन तथा कार्यविधि नहुँदा विभिन्न कानुनी अड्चनहरुको सामना गर्नुपरेको थियो,' उनले भने, 'अब पालिकालाई निकै सहज हुने अपेक्षा गरेको छु।'

प्रकाशित मिति: : 2024-02-08 18:32:00

प्रतिकृया दिनुहोस्