नारायणी अस्पतालमा छोरी जन्माएर आमा फरार

File Photo
File Photo

वीरगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा फरार भएकी छन्।

सुत्केरी व्यथा लागेपछि शुक्रबार साँझ सासूसँग नारायणी अस्पताल पुगेकी एक महिलाले शनिबार बिहान छोरीलाई जन्म दिएकी थिइन्। छोरी जन्मेपछि सासूसँगै उनी अस्पतालबाटै फरार भएकी हुन्।

अस्पतालका अनुसार उनले जन्माएकी शिशुकाे स्वास्थ्य अवस्थामा सामान्य रहेको छ।

अस्पतालमा नाम ‘सीता देवी’ र रानीघाट-६ वीरगञ्जको ठेगाना टिपाए उनीहरूले दुवैजनासँग मोबाइल नभएको बताएका थिए।

छोरी जन्मिएपछि सीतालाई परिवारका सदस्यले गाली गरेकाे स्वास्थ्यकर्मीले बताएका छन्। अस्पतालमै पनि परिवारका सदस्यले तनाव दिएजस्तो देखिएको उनीहरूको भनाइ छ। यसअघि पनि सीताका तीन छोरी जन्मिएका थिए।

उनीहरू फागुन १२ गते दिनभर अस्पतालमै बसेका थिए। साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिँडेका हुन्। साँझपख बेडमा शिशु मात्रै देखेपछि स्वास्थ्यकर्मीले खोजी गरेका थिए, तर भेटिएनन्।

आइतबार मध्यान्हसम्म पनि उनीहरू नभेटिएको अस्पतालले जनाएको छ। छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेकाे अस्पतालको दाबी छ।

अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराएको छ। उनीहरूले गलत ठेगाना टिपाएर गएकाले खोजीमा कठिनाइ भइरहेको र खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

प्रकाशित मिति: : 2024-02-25 17:01:00

प्रतिकृया दिनुहोस्