समाचार चोरी गर्ने १८३ वटा अनलाइनलाई काउन्सिलले गर्‍यो कारबाही

प्रेस काउन्सिल नेपालले समाचार चोरी गर्ने १८३ वटा अनलाइनलाई कारबाही गरेको छ। गत साउनदेखि हालसम्म समाचार हुबहु चोरी गरी सार्ने १८३ वटा सञ्चार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको प्रेस काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुसार ती मध्ये १४३ वटा सञ्चार माध्यमलाई स्पष्टिकरण सोधिएको छ। जसमा ११ वटालाई सचेत गराइएको छ। भने, अधिकांशले आगामी दिनमा समाचार चोरी नगर्ने प्रतिबद्धता जनाएका छन्।

बिना दर्ता चलेका २९ वटा वेबपोर्टललाई कारबाहीका लागि काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ।

काउन्सिलका अनुसार गत साउनदेखि फगुन १५ गतेसम्म मिडियाविरुद्ध १२० वटा उजुरी र १२ वटा जनगुनासा दर्ता भएका छन्।

पछिल्लो तीन महिना (पुसदेखि हालसम्म)को अवधिमा २१ वटा उजुरी, दुई वटा जनागुनासोसहित ५३ वटा उजुरी दर्ता भएको काउन्सिलले जनाएको छ।

यस सन्दर्भमा बुधबार प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठक बसेको छ। बैठकले समाचार हुबहु चोरी गर्ने प्रवृत्तिलाई निरुसाहित गर्ने विभिन्न कारबाही गर्ने निर्णय गरेको गरेको छ। जसअनुसार आज (बुधबार) पनि ८९ वटा सञ्चार माध्यमलाई सचेत गराउने निर्णय गरिएको काउन्सिलले जनाएको छ।

बैठकले आगामी दिनमा मुख्य स्रोतको अनुमतिबिना हुबहु प्रकाशन नगर्ने नगराउन ध्यानाकर्षण गर्ने र पुन: यस्तो प्रवृत्ति फेरि भएको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिता बमोजिम थप कारबाही गर्नेतर्फ सचेत गराउने निर्णय गरेको छ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा नेपाल पत्रकार माहसंङघका अध्यक्षसमेत रहेका काउन्सिल सदस्य तथा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल काउन्सिलका सदस्यहरु दिपक पाण्डे, दुर्गा भण्डारी, ठाकुर बेलबासे, लालबहादुर शेख, भद्राप्रसाद अधिकारी, गणेशप्रसाद पोखरेल तथा बार एसोसिएयनका प्रतिनिधि महासचिव अञ्जिता खनाल र काउन्सिलका सह-प्रशासकीय अधिकृत एवम् सह-प्रवक्ता रामशरण बोहोरा सहभागी थिए।

बैठकमा काउन्सिलका अध्यक्ष बस्नेतले अनलाइनको संख्यात्मक मात्रा नभई गुणात्मक वृद्धि गराउन र समाचार चाेरी गर्ने प्रवृत्ति रोक्न आगामी दिनमा कडाइ गर्ने बताए। ‘सञ्चार माध्यमले आफ्नै मौलिक र खोजमूलक प्रस्तुति नदिने हो भने पत्रकारिता फस्टाउन सक्दैन विश्वासनीयता पनि घट्छ, यसतर्फ गम्भीर भई काउन्सिलले अनुगमन, सहजीकरण र कारबाही गर्दै आएको छ’, अध्यक्ष बस्नेतले भने।

प्रकाशित मिति: : 2024-02-28 19:51:00

प्रतिकृया दिनुहोस्