सामाजिक सञ्जालको ‘असामाजिक’ घेरा

प्राचीन समयमा सूचना प्रवाहको रुपमा काग, कोइलीजस्ता पन्क्षीहरूको सहारा लिइन्थ्यो।

अब भौतिक तथा प्राविधिक उन्नयनको परिणामस्वरुप अत्याधुनिक कम्प्युटरजन्य औजारमार्फत् प्रविधियुक्त सफ्टवेयरको सहायताले फेसबुक, ट्वीटर, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालको प्रयोग व्यापक छ। 

सामाजिक सञ्जाल मानिसहरूको दैनिकी, नित्यकर्म र जीवनको महत्वपूर्ण पाटोको रुपमा स्थापित भइसकेको कुरा नकार्न सकिन्न।

बहुसंख्यक मानिस यसको प्रयोगमार्फत् सूचना र तथ्यांकबाट सुसूचित हुनुका साथै अर्कातर्फ यसको चरम र अस्वभाविक प्रयोगले हाम्रो समाज आधुनिकताको नाममा असामाजिक र अनैतिक गतिविधिमा समाहित भई हाम्रा संस्कृति र मौलिकपनमा आँच आइरहेको स्पष्ट देख्न सक्छौँ।

संसारभरका करिब तीन अर्ब मानिस अथवा विश्वका पूरा जनसंख्याको करिब ४० प्रतिशत मानिस सामाजिक सञ्जाल प्रयोग गर्दछन्।

सामाजिक सञ्जालले हाम्रो जीवनमा ओगट्दै गइरहेको हिस्साले मानसिक स्वास्थ्य, रहन–सहन तथा समयमा के असर गरिरहेको छ त?

सामाजिक सञ्जालको प्रयोगको इतिहास लामो नभएकाले यसको प्रभाव तथा परिणामहरू यही हो भनी निर्णायक मान्दा हतारो हुन जान्छ। तथापि, यससम्बन्धी भएका अध्ययन अनुसन्धानका आधारमा प्राप्त प्रमाणहरू नकार्न सक्ने अवस्था भने छैन। सामाजिक सञ्जालको प्रयोगले मानव जीवनका विभिन्न आयामहरूमा प्रभाव पार्दछ।

सन् २०१५ मा वासिङ्टनस्थित पिउ रिसर्च सेन्टरले सामाजिक सञ्जालले तनाव बढाउन सहयोग गर्छ वा घटाउन भनेर अध्ययन गरेको थियो। एक हजार आठ सय मानिसमा गरेको सर्वेक्षणमा पुरुषको तुलनामा महिलाहरू बढी चिन्तित र तनावमा रहने गरेको पाइयो। अरुको तनाव देखेर आफ्नाे तनावलाई न्यूनीकरण गर्न सहयोग हुने मानवीय प्रकृतिलाई मूल्यांकन गर्दा केही हदसम्म तनाव कम गर्छ भन्ने निष्कर्ष निकालेको थियो।

सन् २०१४ मा शाेधकर्ताहरूले गरेको अध्ययनले २० मिनेट फेसबुक चलाएपछि उनीहरूको मुड नराम्रो हुने फेला पारेको थियो। उनीहरूका अनुसार समय खेर गएको अनुभूतिले मुड बिग्रिने भनाइ थियो।

सन् २००९ देखि २०१२ सम्ममा १० करोड फेसबुक प्रयोगकर्ताको स्टाटसका आधारमा यो कुरा पत्ता लाग्यो कि मानिसको मुडमा अप्रत्यासीत परिवर्तन ल्याई मानसिक अवस्थामा अस्थिरता रहेको पुष्टि हुन्छ।

अनुसन्धानकर्ताहरूले सामाजिक सञ्जालले निम्त्याउने चिन्ता र यसका कारणले हुने बेचैनी तथा भयबारे अध्ययन गरेका छन्। कम्प्युटर एण्ड ह्युमन बिहेबियरमा प्रकाशित एक लेखमा बताएअनुसार सात वा सातभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने मानिसहरू ०–२ वटामात्र सामाजिक सञ्जाल प्रयोग गर्नेभन्दा बढी चिन्तित रहने देखियो।

केही अध्ययनले मानसिक चिन्ता र सामाजिक सञ्जाल प्रयोगबीच सम्बन्ध भएको पत्ता लगाएपछि, सामाजिक सञ्जाललाई राम्रो कामका लागि कसरी प्रयोग गर्न सकिन्छ भनेर अध्ययन भइरहेको छ। सात सय जना विद्यार्थीमाझ गरिएको दुइटा अनुसन्धानले विद्यार्थीको खराब मुड, निराश र व्यर्थपन बढेको पाइयो। डिप्रेसनको लक्षण अझ बढेको पाइयो।

सन् २०१६ मा एक हजार सात सय मानिसमा गरिएको अनुसन्धानबाट धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने मानिसहरू अरु मानिसभन्दा चिन्ताको सिकार भई डिप्रेसन जाने सम्भावना तीन गुणा बढी पाइयो। साइबर बुलिङ, अरुको जीवनको प्रगति, आफू केही नभएको अनुभव तथा विरक्तताका कारण मानसिक तनाव भएको उनीहरूको भनाइ थियो।

युनिभर्सिटी अफ पिटर्सबर्गले १८ देखि ३० वर्षका एक हजार सात सय मानिसमा गरेको सर्वेक्षणमा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने मानिसहरू निद्राको गहिराइमा जान नसक्ने, बारम्बार ब्युँझिने तथा यसैको परिणाम स्वरुप कल्पना शक्ति र क्रियाशिलतामा ह्रास आउने पुष्टि गरेको छ।

केही अनुसन्धानहरूले धुम्रपान र मद्यपानभन्दा पनि सामाजिक सञ्जालको लत थाम्न अझै गाह्रो हुने बताए। नेदरल्याण्ड्सका वैज्ञानिकहरूले त झन् सामाजिक सञ्जालको लत पत्ता लगाउने मापन उपकरणको नै आविष्कार गरेका छन्।

सन् २०११ मा बेलायतको नटिङ्घाम ट्रेण्ट विश्वविद्यालयका डारिया कस र मार्क ग्रिफित्सले सामाजिक सञ्जालको लत मानसिक समस्या भएको र यसका लागि व्यावसायीक उपचार कै खाँचो पर्ने निष्कर्ष निकालेका थिए।

वास्तविक जीवनमा कम अन्तक्रिया गर्ने, सम्बन्धहरूमा समस्या तथा पढाइमा प्रगति गर्न नसकेका धेरै मानिसहरूले सामाजिक सञ्जालमा धेरै समय बिताएको पाइयो।

कुराकानी गर्दागर्दै कहिलेकाहीँ फेसबुक हेर्ने तथा ध्यान कुरातर्फ नभई फोनतर्फ मोडिने गरेको हामी पाउँछौँ। साथै महत्वपूर्ण छलफलका बिचमा समेत यसको प्रभावले हामीलाई डिस्टर्ब भइरहेको पाउँछौँ।

जर्नल अफ सोसल एण्ड पर्सनल रिलेशनसीपमा लेखेका अनुसन्धानकर्ताहरूले ३४ नचिनेका जोडीहरूलाई जीवनमा भर्खर घटेको रमाइलो घटनाबारे १० मिनेटको कुराकानीमा आधा मानिसहरूले फोन आफू नजिकै राखेका थिए।

आफ्नो अगाडि फोन राखेकाहरूले १० मिनेटको वार्तालाप पनि राम्ररी सम्झन नसकेको, कुराकानी खासै अर्थपूर्ण नलागेको र कुराकानी गरेका साथीहरूसँग पनि खासै नजिकिन नसकेको बताएका थिए।

यसले प्रेम सम्बन्ध पनि खासै मजबुत बनाउन नसकेको पाइयो। क्यानाडाको युनिभर्सिटी अफग्वेलफले १७ देखि २४ वर्षका तीन सय मानिसहरू माथि गरेको अनुसन्धानबाट महिलाहरूले पुरुषहरूभन्दा बढी फेसबुक प्रयोग गर्ने र आफ्नाे प्रेमीले अरु केटीलाई साथी बनाउँदा इर्ष्या लाग्ने गरेको बताए। उक्त अनुसन्धानबाट फेसबुकले इर्ष्याको वातावरण सिर्जना गरी सम्बन्धमा ठेस पुर्‍याउने भनी निष्कर्ष निकालेको थियो।

सामाजिक सञ्जालको प्रयोगले कस्ता असर पुर्याउँछ भनेर यकिन साथ भन्न सकिहाल्ने अवस्था छैन। यकिन भएको एउटा कुरा के हो भने मानिसको आचरण, मानसिक अवस्था, संवेदनशीलता, शारीरिक सबलता तथा संवेगात्मक अवस्था अनुरुप फरक–फरक तवरले प्रभाव पारिरहेको हुन्छ।

आधुनिक युगमा दिनानुदिन सामाजिक सञ्जालको चरम प्रयोगले लतको रुप लिई सकेको अवस्थामा समूचित तवरले यसको प्रयोग गर्नुपर्ने देखिन्छ। यसको सही प्रयोग गरी फाइदा लिने र गलत प्रयोगलाई न्यूनीकरण गर्न एकदमै जरुरी छ।

सामाजिक सञ्जालको प्रयोग गर्दा कुन कुरालाई खोज्ने वा हेर्ने भन्ने आफ्नाे छनौट हो। संसारमा धेरै कुरा बौद्धिकता वा मानवियताका लागि गरिएका विकास हुन् तर यसको प्रयोग मानवताकाविरुद्ध पनि भएका छन् र भइरहेका छन्। भोलि सामाजिक सञ्जाल नै हाम्रा लागि सबैभन्दा ठुलो खतरा र चुनौती नबनोस् भनेर आजैदेखि सोच्नुपर्ने बेला आएको छ।

(लेखक मध्यपश्चिम विश्वविद्यालयमा पत्रकारिताका विद्यार्थी हुन्।)

प्रकाशित मिति: : 2024-03-03 19:00:00

प्रतिकृया दिनुहोस्