गौरीशंकरकाे सुन्दरता देखाउने चेर्दुङ (तस्बिरहरु)

वसन्त ऋतुको आगमनसँगै नयाँ पालुवा पलाउँदै छन्, अर्थात् रमाइला दिनहरु सुरु हुँदैछन्। यस्ताे मौसममा काठमाडौँबाट कतै नजिकै घुम्न जाने स्थानहरु थुप्रै छन। गाडीकाे यात्रा हाेस् या हाइकिङ, ट्रेकिङ अब बिस्तारै पर्यटकीय क्षेत्रहरु भरिभराउ हुन सुरु हुन्छ।

काठमाडौँबाट नजिकको कुनै ठाउँ सोच्नु भएको छ भने एकदिनकाे यात्रमा पुग्न सकिने र केही घण्टाको पैदल यात्रामा आफ्नो आँखैअगाडि गारीशंकरदेखि सगरमाथा, नुम्बुरसम्म देखिने स्थान हो, चेर्दुङ।

चेर्दुङ नेपालकै स्वीजरल्याण्डको उपनामले चर्चित नगरी दोलखा जिल्लाको जिरीको शिर भएर उभिएको सुन्दर डाँडा हो। जिरीलाई काखमा राखेर चेर्दुङडाँडाले अभिभावकत्वको भूमिका निभाइरहेको छ।

समुन्द्र समहबाट करिब ३७०० मिटरको उचाइमा रहेको यस चेर्दुङ प्राकृतिक रूपमा मनोरमको धनी हुनुका साथै हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल। डाँडाको सुन्दर पाखामा खुल्ला आकाशमुनि महादेव शीला छ। जहाँ भक्तजनले चढाएका त्रिशुल नै त्रिशुल छन्। ध्वजा तथा खाताले शीलालाई सिँगारिएको छ। वरिपरि लुङ्दर टाँगिएको छन्। चण्डी पूर्णिमा र राम्बोले पूर्णिमामा यहाँ विशेष मेला लाग्दछ।

यहाँ पूजा गर्नाले रोगव्याधी नलाग्ने, चिताएको पुग्ने र जंगली जनावरले दुःख नदिने जनविश्वास रहेको पाइन्छ। बौद्धमार्गीको उठ्ने लामाको पनि कथा चेर्दुङसँग जोडिएको छ।

चेर्दुङ डाँडैबाट सगरमाथाको चुचुरो देखिनुका साथै गौरीशंकर र नुम्बुर हिमाल आँखैअगाडि ठोकिन पुग्छन्। रामदुङ, छेकिगो, टासीलाप्सा, आमाबामरेजस्ता दर्जनौँ हिमशृंखलाको मनोरम दृश्य देख्न सकिन्छ। डाँडाबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बुलगायतका दृश्य हेर्न पाइन्छ।

डाँडैबाट सूर्योदय र सूर्यस्तको आनन्द लिन सकिन्छ। बाटोमा चेर्दुङ नपुग्दै बाटोमा क्याङसे पोखरी रहेको छ। उक्त पोखरी सानो भएपनि मनै लोभ्याउने छ। रूखको छायामा बसेको सुन्दर पोखरी क्याङ्से नजिकै सानो चौरी गोठहरू पाइन्छ। वरिपरि रूखहरू भएता पनि पोखरीमा रूखको पातहरू खसेपछि कुनै न कुनै चरा आएर लिएर जाने गरेकाले त्यस पोखरीमा पात हुँदैन। यहीँ पोखरीमा चौरीले पानी पिउँदा रहेछन।

जिरी बजारबाट करिब ३–४ घण्टाको पैदल दूरीमा रहेको यो पोखरीसम्म गाडीमा जाने हो भने करिब १ घण्टामै पुगिन्छ। यहाँ पोखरी वरपरको सुन्दर हरियाली पाखा पखेरासँगै चराचुरूङ्गीका भाका सुन्न पाइन्छ। यहाँ गोठमा छुर्पी बनाइरहेको हेर्न र चाख्न पनि पाइन्छ। यहाँ पोखरीमा पूजा गर्नाले दैवी विपत्ती नआउने, मौसम राम्रो हुने र आकाश खुल्ने जनविश्वास रहेछ।

कसरी पुग्ने चेर्दुङ

जिरी नगरपालिकाको धेरै ठाउँबाट चेर्दुङ पदयात्रा गर्न सकिन्छ।

विशेषतः (पैदल यात्रा ६,७ घण्टा) जिरीबजार–गोकुलगंगा पार्क–रमिते डाँडा–पटासे डाडा–क्याङ्से पोखरी–चेर्दुङ

मोटरबाटो (१ देखी २ घण्टा) जिरी बजार –रातमाटे–कुथामे–जोरमाने–क्याङ्से पोखरीसम्म अनि त्यहाँबाट ३ घण्टा पैदल यात्रा पछि चेर्दुङ डाँडा पुग्न सकिन्छ।

प्रकाशित मिति: : 2024-03-09 08:11:00

प्रतिकृया दिनुहोस्