नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सत्तागठबन्धन लामो समय टिक्ने कुनै आधार नभएको बताएका छन्।
आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले लेनदेनका आधारमा बनेको वर्तमान सत्तागठबन्धन आफूभित्रका समस्याका कारण लामो समय टिक्ने कुनै आधार नभएको बताएका हुन्।
उपाध्यक्ष पौडेलले सत्ता र शक्तिका लागि एमालेलाई कुनै चिन्ता नभएको भन्दै जनहितका लागि सदैव सरोकार राख्ने बताए।
‘हाल देखिएका समस्या समाधान गर्न एमाले सबै पार्टीसँग सहकार्य गर्न तयार छ। पद र सत्तालाई हामीले प्राथमिकतामा राखेका छैनौँ’, पौडेलले सञ्चारकर्मीसँग भने।
उनले देशको अर्थतन्त्रलाई सुधार्न नीति र प्रक्रियामा नै सुधार गर्न जरुरी रहेको बताएका छन्। उनले नीति र प्रक्रिया अङ्गीकार गरे मात्रै अर्थतन्त्र सुधार हुँदै जाने बताए।
‘एमालले अर्थमन्त्रालयको जिम्मा लिएका समयमा ठीक नीति र प्रक्रिया अङ्गीकार गरेकाले अथर्गतन्त्र सुधार भएको देखिन्थ्यो। अहिले त्यो अवस्था छैन। अर्थतन्त्रका सबै सूचक समस्यामा छन्’, पौडेलले भने।
पूर्वअर्थमन्त्रीसमेत रहेका उनले मुलुकका समस्या समाधान र जनहितका लागि आफूहरू सबै दलसँग सहकार्यका लागि तयार रहेको बताए।