साइकलयात्री तथा युवा पर्यटन अभियन्ता रामचन्द्र बस्नेत (भास्कर)ले आफ्नो जन्मदिन डोल्पाकाे हुरिकोटका विद्यार्थीसँग मनाएका छन।
उनले जन्मदिनको उपलक्ष्यमा जगदुला- १ स्थित हुरिकोटको गाड्छेन म्हेरी आधारभूत विद्यालयमा अध्यनरत होस्टेलका ५० जना विद्यार्थीलाई खाजा सहयाेग गरेर जन्मदिन मनाएका हुन्। ‘यस विद्यालयकाे होस्टेलमा बसेर पढ्ने भाइ-बहिनीहरुलाई केही दिन पुग्ने खाजा उपलब्ध गराउँदै मैले मेरो जन्मदिन मनाएँ’, उनले भने।
डोल्पाजस्ताे दूरदराज गाउँमा जन्मेका उनले आफ्नो बाल्यकाल अभावमा बिताएकाे र पठन-पाठन गरेको सम्झना गर्दै सानो सहयोगले विद्यार्थीको आहारमा खुसी ल्याउने काेसिस गरेकाे बताए।
त्यस्तै उनले १०८वटा दियो पनि बालेर विश्वका हरेक प्राणीको सु-स्वस्थ्य र भलाइको कामनासमेत व्यक्त गरेका छन्।
दुर्गम जिल्ला डोल्पकाे जगदुल्ला गाउँपालिका- ६ मा जन्मेका बस्नेत (भास्कर) पेशाले ओभरसियर हुन्। यसका साथै उनी साइकलयात्रा तथा ट्रेकिङ गाइड पनि गर्छन्। कोरोना महामारीबीच लकडाउनभरि उनले नुवाकोट-रसुवामा पर्ने फिकुरी ट्रेक, डोल्पालगायत अन्य भू-भागमा साइकल दौडाएर महिनौँ बिताएर नेपालको पर्यटन प्रवर्द्धनमा योगदान दिएका छन।
ओझेलमा परेका हिमाल, पहाड, तराईका विभिन्न भू-भाग तथा विभिन्न पदमार्ग साइकलमै चढेर अवलोकन तथा अध्ययन गर्ने उनको रुचि हो। उनले साइकलयात्रा गर्ने क्रममा खिचिएका फोटो र भिडियोद्वारा नेपालको पर्यटन प्रवर्द्धन गरिरहेका छन्।
उनी साइकलमा नेपालका कुना-कन्दरा चाहर्छन् र फोटोग्राफीका पनि उत्तिकै शौखिन छन्। भास्करले नेपालको पर्यटन प्रवर्द्धनमा नि:स्वार्थ रुपमा खटिरहेका छन्।
तीन वर्षअघि उनले ‘कर्णाली उत्सव’मा एकल फोटो प्रदर्शनीसमेत गरेका थिए। उनले त्यतिबेला कर्णाली प्रदेशका ओझेलमा परेको पर्यटकीय गन्तव्यलाई साइकलयात्रा गर्दै क्यामेरामा कैद गरेका सुन्दर तस्विरहरु प्रदर्शनीमा राखिएका थिए।
प्रदर्शनीमा भास्करले कर्णालीका विभिन्न ठाउँका जीवनशैली, तालहरु (दूधकुण्ड, जगदुल्ला, राक्साल, टूलो पाल्ता), हिमश्रृङ्खला (काङछेन मेनरी राल्वा, टाङटुङ्गे)लगायत विभिन्न गाउँ-बस्तीहरु, साइकलमार्गलगायत भू–दृश्यहरुका तस्विरहरु समावेश गरिएका थिए।