महराकाे बयान सकियाे, हाजिरी जमानीमा छुट्न सक्ने

File Photo
File Photo

सुन तस्करी प्रकरणमा आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महराको बयान सकिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ दुबैतर्फ महराको बयान सकिएकाे हाे।

बयान सकिएसँगै महरा हाजिरी जमानीमा छुट्न सक्ने सम्भावना देखिएको छ। सीआईबी स्राेतका अनुसार म्याद थप्ने उनकाे स्वास्थ्य अवस्थाका कारण आजै हाजिरी जमानी छाड्ने भन्नेबारे टुंगो लाग्नेछ।

गत सोमबार कपिलवस्तुबाट पक्राउ परेका महराविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई चार दिनकाे म्याद दिएकाे थियाे। उक्त म्याद बिहीबार नै सकिएको छ।

जिल्ला अदालतले कमजोर स्वास्थ्य अवस्थाका कारण देखाउँदै अस्पतालमा राखेर अनुसन्धान गर्न दिएको आदेशका आधारमा उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा लगेर भर्ना गरिएको थियाे।

महराले आफू बिरामी भएको बताएपछि अदालतले प्रहरीलाई चार दिन अस्पतालमा राखेरै अनुसन्धान गर्न अनुमति दिएको थियो।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग नेता महराको नाम जोडिएको छ।

ती व्यक्तिसँग चिनजान र कुराकानी भएको स्वयं महराले स्वीकार गरे पनि तस्करीको विषयमा भने आफू अनभिज्ञ रहेको दावी गर्दै आएका छन्।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उनीमाथि अनुसन्धान गर्न सिफारिस गरेको र सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै महरालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको हो।

यसअघि भने सिआइबीले उनलाई बयान कागज गराएर मात्रै छाडेको थियो। उक्त प्रक्रिया त्रुटिपूर्ण रहेको आरोगले औँल्याएको छ। 

प्रकाशित मिति: : 2024-03-22 12:39:00

प्रतिकृया दिनुहोस्