नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि एमाले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन्।
एमाले कास्कीको ११औँ जिल्ला अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले भने, 'माओवादी केन्द्रलगायतसँगको नयाँ समीकरण र सहकार्य देशको समृद्धि र विकासका लागि हो। हामी जनतालाई राज्यसँग जोड्दै अगाडि बढ्छौँ।'
कमजोर राज्य व्यवस्थाले जनतालाई आशा जगाउन नसक्ने भएकाले जनतामा आशा जगाउन एमाले त्यसतर्फ अघि बढेको उनको भनाइ थियो। नेपालमा लामो समयदेखि कायम राजनीतिक अस्थिरता हटाउँदै जनताको बहुदलीय जनवादलाई अँगालेर अगाडि बढ्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे। केही हप्ताअघि माओवादी केन्द्रसँग भएको समीकरण देशलाई अग्रगमनतर्फ लैजाने उद्देश्यले भएको दाबी उनको छ।
नेपाली युवाले विदेशबाट पठाएको रेमिट्यान्स घरायसी खर्च नगरी बचत गर्ने प्रवृत्तिको विकास गर्न जरुरी भएको उनले बताए। नेपाली युवाले विदेशबाट पठाएको पैसा घर खर्चमा प्रयोग हुँदा पुँजी निर्माण हुन नसकेकोप्रति पनि उहाँले चिन्ता व्यक्त गरे।
शिक्षा पद्धतिमा परिवर्तन ल्याएर नेपालको शैक्षिक जनशक्तिलाई नेपालमा नै रोक्ने कार्यको थालनी गर्न जरुरी रहेको बताउँदै उनले यसका लागि सरकारले योजना ल्याउने उल्लेख गरे।
विसं २०४७ को संविधान केही कमजोरी भएकाले पूर्वराजा ज्ञानेन्द्रले चलखेल गर्ने बाटो पाएको बताउँदै महासचिव पोखरेलले अहिले पनि पुराना पार्टीलाई कमजोर बनाउन अनेकौँ षड्यन्त्र भइरहेको दाबी गरे।