आमाको संघर्ष र मेरो भोगाइ 

Breaknlinks
Breaknlinks

जीवन एक अमूल्य उपहार मैले पनि पाएँ। उमेर सँगसँगै समयले पनि धेरै कुरा सिकाउने रहेछ। जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–३ (तत्कालीन चन्दननाथ गाविस-४) डाडाकोटमा २२ वर्ष अगाडि मेरो जन्म भयो।

मेरो बाल्यकालको सुरुवातदेखि नै हाम्रो परिवार अरु दलित परिवारभन्दा फरक र आत्मनिर्भर थियो। बाबाले फेन्सी पसल चलाउनुहुन्थ्याे। आमाले बाबालाई पसलमा सहयोग गर्नुहुन्थ्यो। अरुकाे भन्दा हाम्राे जग्गा जमिन पनि धेरै नै थियो। दाइ र दिदी बोर्डिङ्ग स्कुलमा पढ्थेँ। घर–परिवार र समाजमा इज्जतका साथ खान, लाउन र बस्नलाई हाम्रो परिवारलाई कुनै समस्या थिएन।

समय बित्दैजाँदा हाम्रो परिवारको खुसीमा धक्का लाग्यो। म ६ महिनाको हुँदा बाबाले घर छाडेर भारत जानु भएको थियो। बाबाले घर छाडेपछि समाजको उदारणीय परिवार विचलित भएको थियो। त्यसपछि जीवनमा दु:ख र संघर्षको सुरुवात भयो।

बाल्यकालमा मैले न त बाबाको माया पाएँ न त आमाको, बाबा गएपछि आमा केही समयमा नै बिरामी भएकाले मैले मेरो जीवनमा बाबा र आमाको वास्तविक माया कहिले पनि महशूस गर्न पाएको छैन। तर दाइ र दिदीले मलाई धेरै माया र सहयोग गर्नुभएको थियो। मेरो दाइ र दिदी बोर्डिङ्ग पढ्दा–पढ्दै सरकारी स्कुल जान बाध्य हुनुभयमे। बाबाले घर छाडेपछि सबैभन्दा धेरै विचल्लि र अप्ठारोमा मेरो आमा पर्नुभयो। म त सानै थिएँ। उमेर बढ्दै गएपछि आमाले सबै कुराहरू मलाई सुनाउनुभएको थियो।

बढ्दो उमेर सँगसँगै मैले बाबाको महत्व र अभाव महशूस गर्न थालेँ। घरमा आमालाई चारजना सन्तानलाई पढाउन, खुवाउन र लत्ता–कपडा आदि समस्याले थियाे। त्यसैबखत आमा धेरै बिरामी हुनुभयो। बाबाको बिछोड पछि आमाको मानसिक सन्तुलनमा समस्या देखियो। पछि समाज र आफन्तहरूबाट बहिष्कार, अपहेलना, विभेद, गालीगलाैज आदि कुराले मेरो बाल मष्तिकमा नराम्रो प्रभाव पारेको थियो। अहिले पनि मानसपटलमा रहिरहेको छ। दलित समुदायमा जन्मनु, समाजदेखि घरपरिवारको अवस्था यी सबै कुराले गर्दा आज म आफ्नो कथा लेख्न सक्ने भएको छु।

आमाको स्वास्थ्यमा अलि सुधार भएपनि अहिलेसम्म ठिक भइसकेको छैन। त्यो समय हाम्रा लागि कठिन थियो। एउटा बालक जन्मेपछि उसको भविष्य तय गर्ने उसका बाबा र आमाको ठूलो महत्वपूर्ण भूमिका रहन्छ तर मेरा लागि कोही थिएनन् न त भविष्य लेख्ने न त सहयोग गर्ने अहिले पनि यी दुई कुराहरू मनमा खट्किरहन्छ।

मान्छेहरूको जीवनमा उत्तारचढाव आउनु स्वभाविक हो तर मेरो त जन्म पश्चात नै जीवनको परीक्षा सुरु भएको थियो। सानै उमेरमा जातको कारण विभेद भोग्नुपरेको, घर परिवारको विग्रिँदाे अवस्था, साथीभाइबाट अपहेलित, समाजमा बाउले छोडेको छोरी र मानसिक बिमारीले घेरिएकी आमा। यति धेरै कारणहरूले गर्दा नमिठा भोगाइहरू महशूस गरेको छु मैले। ती भोगाइहरूले एक दिन त पक्कै पनि न्याय पाउँछन् होला र त्यही न्यायको लागि मैले मेरो जीवनमा एक सफल व्यक्ति भएर समाज र मेरा परिवारको लागि उदाहरणको पात्र भन्ने आँट गरेको छु।

मेरो संर्घषको सुरुवातः आमाले हामीहरूलाई घरमा छाडेर दिनभरी श्रम गर्न जाँदा र साँझमा आमाले ल्याएको खाजा रोटीले चार जनाको पेट भर्दा नै भयो। त्यो दुःखत समयका बेला आमा शक्तिशाली उर्जा हुनुहुन्थ्यो। उहाँ मेरो लागि आर्दशकाे पात्र हुनुहुन्छ र संर्घष कसरी गर्ने र किन गर्ने भन्नेबारे मलाई सधै बुझाउने र सम्झाउने गर्नुहुन्थ्यो।

समयसँगै जग्गा–जमिन, खेतीपाती त थियो तर बालीनाली समयमा नलगाउँदा, हाम्रो राम्रोसँग उब्जनी पनि हुँदैन थियो। समाजका मान्छेहरू काम गर्न नआउने, अनि खेतबारीमा समयमा पानी लगाउन पनि समस्याले गर्दा ६ महिना पनि राम्रोसँग खान पुग्दैन थियो। आफन्तहरूले पनि खासै मतलव नगरेकाले ६ महिनापछि फेरी आमा अर्काको घरमा बिरामी हुँदाहुँदै पनि काम गर्न जानुपर्ने बाध्यता थियो। किनकि त्यो समयमा दाइहरू पनि सानै हुनुहुन्थ्यो।

मलाई अहिले पनि याद छ– स्कुल पढ्दा म अरु भन्दा अलि पढ्ने, सक्रिय र  प्रथम विद्यार्थी थिएँ। केही छात्रावृत्तिको पैसाहरू जम्मा गरेर म आमालाई दिन्थेँ। त्यो पैसाले आमाले घर व्यवहार मिलाउनुहुन्थ्यो। तर मैले मेरो इच्छा चाहनाहरूलाई मारेको थिएँ। किनकि मेरो आमाको दु:ख र संर्घष देखेको थिएँ।

कक्षा सातमा पढ्दा मेरो कपी पुरानो र च्यातिएको कारणले गर्दा शिक्षकले मेरो गृहकार्य जाँच गर्नुभएन। त्यसको केहि दिन पछि म गिट्टी कुट्न जान थालेँ। र त्यसबाट आएको पैसाले नयाँ कपी किनेर गृहकार्य गरेँ। त्यो मेरो जीवन संघर्षको पहिलो पाइला थियो। अरु विद्यार्थीहरू भन्दा म फरक प्रकृतिको थिएँ र हरेक स्कुलको अतिरिक्त त्रियाकलापमा म सहभागिता जनाउँथे र अरु भन्दा म असल र सक्रिय विद्यार्थी थिएँ। त्यसैले मलाई स्कुलमा शिक्षक, शिक्षिकाहरूले माया र सहयोग गरेको अहिले पनि याद छ।

सानैदेखि फरक र आत्मविश्वासका साथ प्रस्तुत भएकाले र मेरो राम्रो व्यवहारले गर्दा साथीहरू मप्रति प्रभावित र सजग देखिन्थे र पढाइ सँगसँगै युवा क्लव, महिला समूह जस्ता बाहिरी सामाजिक कार्यमा पनि संग्लन थिए।

पढ्ने क्रममा जापनीजहरूको सहयोगमा संचालित फिल्डर छात्राबासमा सहभागि हुने मौका पाएँ। त्यसमा बस्न, खाना, पढाइ नि:शूल्क साथै महिनाको २५ सय आर्थिक सहयोग बापत यी सुविधाहरू भएकाले मैले एसईई प्रथम श्रेणीमा पास गर्न सफल भएँ। समयसँगै दाइ र दिदी ठूला भए। उनीहरू पनि काम गर्न थाले र मैले पनि स्कुले समय देखिनै पैसा कमाएकाले आमालाई घर व्यवहार र श्रम गर्न जान परेन। त्यसपछि हाम्रो घरको आर्थिक अवस्थामा सुधार हुँदै गयो र आमाको स्वास्थ्यमा पनि विस्तारै सुधार हुँदै गयो।

मेरो बाल्यकाल दुखत र अभावपूर्ण भएता पनि मैले मेरो आमाको संघर्ष र समाजको वास्तविक चित्र र मान्छेहरूका चरित्रहरूलाई नजिकबाट अनुभव गर्न पाएँ। ती अनुभवहरूले मेरो जीवनको हरेक पाइलामा महत्वपूर्ण र अर्थपूर्ण भूमिका निर्वाह गर्दछ।

हाम्रो समाजमा व्यापक रुपमा रहेको बालविवाह, जातिय विभेद तथा छुवाछूत, घरेलु हिंसा, महिला हिंसा र विशेष गरेर बालबालिकाका हकअधिकार सम्बन्धी तालिम, गोष्ठि आदि विभिन्न संघसंस्थाबाट संचालित कार्यक्रमहरूमा सधै नै सहभागिता जनाउने र जुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने अवसर मिलेकाले आज जुम्ला जिल्लाका युवाहरूको प्रेरणाको स्रोत बन्न पाँउदा आफैमाथि राम्रो काम गरेको गर्व महशुस हुन्छ।

एसईई पछि मैले जुम्लामा नै प्लस टु पढ्ने निर्णय गरेँ। त्यसपछि म नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय जुम्लामा आमालाई लिएर गएँ। तर मसँग बाबाको नागरिकता नभएको कारणले गर्दा आमाको नागरिकताबाट नबन्ने भनेपछि मलाई त्यो समयमा बाबाको अभाव महशूस पनि भयो। सँगसँगै बाबाप्रति पहिलो पटक घृणा लाग्यो। भोलिपल्ट फेरी गाँउ–समाजलाई राखेर मुजुल्का बनाएपछि मलाई नागरीकता दिइयो।

मैले विभिन्न संघसंस्था, युवा क्लव र महिला शसक्तिकरण आदि क्षेत्रमा काम गर्दै, पढ्दै प्लस टु पनि सकेँ। र म अहिले स्नातक पढ्दै छु। मेरो परिवारको ठूलो सपना चाहिँ म अधिवक्ता बनेको हेर्ने र न्याय क्षेत्रमा काम गरी म जस्ता छोरीहरूको बुलन्द आवाजलाई सशक्तीकरण गराउनु हो।

मैले मेरो बाल्यकालदेखि किशोर अवस्थासम्म भोगेका यी नमिठा र तिता अनुभवहरू सँगसँगै केहि सहयोगी पात्रहरूलाई धन्यवाद दिन चाहान्छु। जसले मेरो पढाइ र कामहरूमा सकारात्मक उर्जा सहित प्रोत्साहन गरिरहे। विश्वास छ मलाई अब आउने जीवनका हरेक पाइलाहरूमा सधै साथ र सहयोग पाउनेछु। 

प्रकाशित मिति: : 2024-03-26 18:48:00

प्रतिकृया दिनुहोस्