राखेपले उपलब्ध गरायो दशरथ रंगशालाको विवरण

त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आवश्यक कागजात शुक्रबार उपलब्ध गराएको छ।

फिफा विश्वकप छनोट र एसियाली छनोटको खेल दशरंथ रंगशालामा सञ्चालन गर्ने सम्बन्धमा दशरथ रंगशालाको अवस्था बारे एएफसीले प्रारम्भिक अनुगमन पश्चात माग गरेको विवरण राखेपले एन्फालाई दिएको हो। उक्त विवरण शुक्रबारै एन्फाले एएफसीमा पठाउने तयारी गरेको छ।

एएफसीले एन्फालाई दुवै छनोट प्रतियोगिताका खेल खेलाउन दशरथ रंगशाला उपयुक्त हुने आधारसहति चार बुँदे विवरण माग गरेको थियो।

एएफसीले एन्फालाई स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाक्वुएसन प्लान, कोलर कोडेड फ्लोर प्लान डायग्राम र रिस्क एनालाइसिस स्पेसिफिक टु दि स्टेडियमका विषयमा जानकारी माग गरेको थियो। सो विषयमा एन्फाले राखेपलाई एएफसीमा पठाउन विवरण माग गरेकोमा राखेपले प्राविधिक परामर्शदाताको सहयोगमा अध्ययन पश्चात तयार पारेको सम्पूर्ण विवरण एन्फालाई दिएको हो।

बिहीबारमात्रै संसदीय व्यवस्था समितिमा दशरथ रंगशालाको अवस्थाबारे प्रश्न उठ्दा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले यही हप्ताभित्र विवरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। त्यसको भोलिपल्ट नै राखेपले एन्फालाई विवरण दिएको छ।

सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा राखेपअन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठले एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलाई विवरण हस्तान्तरण गरे।

आगामी दिनदेखि अन्तर्राष्ट्रिय महासंघहरुको पूर्वाधार मापदण्ड राखेपलाई समयमै उपलब्ध गराउन सदस्य–सचिव टंकलाल घिसिङले एन्फाको ध्याणाकर्षन गराएका छन्।

फिफा विश्वकप र एसियाली छनोटअन्तर्गत नेपालले युएईविरुद्ध जेठ २४ गते दशरथ रंगशालामा ‘होम म्याच’ खेल्दैछ।

प्रकाशित मिति: : 2024-05-10 21:46:00

प्रतिकृया दिनुहोस्