शिक्षामन्त्रीमाथि सुमनाकाे कटाक्ष- विश्वविद्यालयमा आपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने?

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्धको माग गरेकाेप्रति कटाक्ष गरेकी छन्।

बुधबार बिहान शिक्षामन्त्री भट्टराईले त्रिवि असुरक्षित भएको भन्दै गृहमन्त्रीलाई सुरक्षा प्रबन्ध मिलाइदिन माग गरेकी थिइन्। त्यसपछि पूर्वशिक्षामन्त्री श्रेष्ठले दशकौंदेखि आफैँ विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, आपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने भन्दै कटाक्ष गरेकी हुन्।

उनले शिक्षामन्त्रीले सुरक्षा व्यवस्थासहित उच्च मनोवलका साथ पदाधिकारीहरुलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने भन्दै प्रश्न गरेकी छन्।

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले सुरक्षा व्यवस्था सहित उच्च मनोवलका साथ पदाधिकारीहरुलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने? दशकौंदेखि आफै विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने? अब के जनताले राजनैतिक प्रशय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो?’, सांसद श्रेष्ठले प्रश्न गरेकी छन्। 

काम गर्यो भने सकिने थुप्रै उदाहरण भएकाे भन्दै उनले अहिलेको दुई तिहाईको सरकारका मन्त्रीले आनाकानी गरेकाे बताइन्।

सुमनाले सामाजिक सञ्जालमार्फत लेखेकी छन्: 

त्रिविमा पनि दुई तिहाई सरकार छ - एउटा विद्यार्थी सङ्घ र अर्को प्राध्यापक सङ्घ। अनि सबै सङ्घले पाएको छ संघीय सरकारका दुई तिहाईको बहुमतले सरकार बनाएका ठुला दलका आशीर्वाद।
त्रिविमा पदाधिकारीले असुरक्षा महसुस गरेको, सरस्वती क्याम्पसमा अध्यापकमाथि भएको कुटपिट, समाजशास्त्री प्राध्यापक प्रेम चलाउने माथि घातक प्रहार गर्ने, राजनैतिक फाइदाका लागि विश्वविद्यालयलाई खाने भाँडो, कार्यकर्ता पाल्ने भाँडो - सबै गर्ने औजार हो राजनैतिक भातृ संगठन! 
दुई तिहाईको सरकारले के दियो? स्थायीत्व कता गयो? गुण्डाहरुको मनोबल किन बढेको? विधिको शासन कता गयो? कसको आडमा? कसको प्रशयमा? 
अनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको सुरक्षाको माग छ, जनतासँग - बहस चलोस् भनेर रे। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले सुरक्षा व्यवस्था सहित उच्च मनोवलका साथ पदाधिकारीहरुलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने? दशकौंदेखि आफै विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अपराधिक राजनीतिको सम्रक्षण गर्ने अनि जनता गुहार्ने? अब के जनताले राजनैतिक प्रशय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो? 
वास्तवमा, काम गर्यो भने सकिन्छ। उदाहरण थुप्रै छन्। अहिलेको दुई तिहाईको सरकारका मन्त्रीलाई किन यस्तो आनाकानी? समस्या समाधान गर्नु छैन भन्ने बुझ्नु पर्ने हो? 
यसै विषयमा मैले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिज्यूलाई आकस्मिक बैठक बोलाउन अनुरोध गरेकी छु। दलीय राजनीतिमुक्त शिक्षा क्षेत्र बनाउनुहोस्। देशले यो भन्दा बढी कति गुमाउन पर्ने हो? अझै कति पुस्ताले यो हविगत बेहोर्नु पर्ने हो?
No ‘if’ no ‘but’ 
दलीय राजनीति शिक्षा क्षेत्रबाट CUT!

प्रकाशित मिति: : 2024-08-21 12:56:00

प्रतिकृया दिनुहोस्