भ्रष्टाचार विरोधी अभियान निरन्तर अघि बढ्छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको बेला सुरु गरेको भ्रष्टाचार विरोधी अभियान निरन्तर अघि बढ्ने बताएका छन्।

नेकपा माओवादी केन्द्र जुम्लाले खस भाषा र सभ्यताको केन्द्र सिञ्जा कनकासुन्दरीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो अभियान नरोकिने बताएका हुन्। उनले आफूले सरकारबाट सुरु गरेको यो अभियान अब पार्टीको तर्फबाट अघि बढाउने बताए।

‘सुशासनको पक्ष र भ्रष्टाचारको विरुद्धमा निकै ठूलो अभियान सुरु गरिएको छ’, उनले भने, ‘नेपालको इतिहासमा नै पहिलोपटक सबैभन्दा माथिल्लो तहमा रहेका नेता र कर्मचारीहरुविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने र हिरासतमा लिने प्रक्रिया सुरु भएको थियो, यो पहिलो रेकर्ड नै बनेको छ।’

भूमाफियाहरुले राज्यको जग्गा व्यक्तिका नाममा लैजाने र जनतालाई कंगाल बनाउने प्रवृत्ति धेरै पहिलेदेखि हुर्कँदै आएको आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले त्यस्ता भूमाफियाले कब्जा गरेर व्यक्तिका नाममा लगेको जग्गा पुनः राज्यका नाममा फिर्ता गराउने र उनीहरुलाई मुद्दा चलाउने काम गरेको स्मरण गरे।

उनले सामाजिक न्यायको पक्षमा देशभित्र र बिदेशमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्नेदेखि हजारौँ नागरिकताविहीनतालाई नागरिकता प्रदान गर्ने, वर्षौँदेखिको मिटरब्याजको समस्या कानुन बनाएर नै अन्त्य गर्नेलगायतका कामले जनतामा नयाँ उत्साह पैदा भएको बताए।

भौतिक पूर्वाधार निर्माणको सवालमा आफूले तिनैपटक प्रधानमन्त्री हुँदा महत्वपूर्ण थालनी गरेको बताए। पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तरदक्षिण करिडोरको अवधारणा अघि सारेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेको र तेस्रोपटक प्रधानमन्त्री हुँदा भारतसँग दश वर्षमा दश हजार मेगावाट विद्युत बिक्रीलगायतका ऐतिहासिक समझदारीमा हस्ताक्षर गरेको बताए।

चाँडै निर्माण सम्पन्न हुन थालेको मध्यपहाडी लोकमार्गले पहाडी क्षेत्रलाई नयाँ जीवन दिंदै राष्ट्रिय एकता र आर्थिक समृद्धिका लागि कोशेढुंगा हुने बताए। उत्तरदक्षिण कोरिडोरले कर्णाली लगायतका विकट क्षेत्रलाई सुगम बनाउँदै लैजाने बताए।

‘भारत र बंगलादेशसँग विद्युत व्यापारको सम्झौता क्रान्तिकारी कदम थियो’, उनले भने, ‘पहिलोपटक चीन भ्रमणका क्रममा पनि विद्युत व्यापारका लागि क्रसबोर्डर ट्रान्समिटर निर्माण गर्ने सहमति भयो। थुप्रै नाकाहरु खोल्ने सहमति भयो। तपाईं कर्णालीबासी जनसमुदायलाई थाहै छ, ८ वटा परम्परागत नाकाहरु खोल्ने निर्णय पनि यसैबीचमा भयो। जुम्लाको नाथेलाग्नासम्म बाटो पुर्याउने सहमति पनि भएको छ, यो कणार्लीको विकासको लागि महत्वपूर्ण काम हो।’

आफू चौथोपटक जुम्ला आएको उल्लेख गर्दै उनले खस भाषा र सिञ्जा सभ्यताको केन्द्रमा आएर बोल्दा गौरव महसुस भएको र यो सभ्यतालाई पुनर्स्थापित गर्नुपर्ने बताए।

उनले यससम्बन्धी कानुन निर्माणको प्रक्रिया आफ्नो नेतृत्वको मन्त्रिपरिषद्ले अघि बढाएको जानकारी दिँदै यसलाई पूर्णता दिन सबै जिम्मेवारपूर्वक लाग्नुपर्ने बताए।

कार्यक्रममा कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ निर्वाचित वडा अध्यक्ष धनबहादुर कामीसहित झण्डै पाँच सय व्यक्ति विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए। नवप्रवेशीहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए।

प्रकाशित मिति: : 2024-10-21 17:21:00

प्रतिकृया दिनुहोस्