सत्तारुढ दलले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिको निर्देशनअनुसार कारवाही प्रक्रिया अघि बढाउँदा प्रश्न उठाउनु राम्रो उचित नभएकाे निष्कर्ष निकालेकाे छ।
बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय समितिमा रहेका राजनीति दलहरूले नै कारवाही प्रक्रिया अघि बढाउँदा प्रश्न उठाउने नैतिक रूपमा उचित नहुने निष्कर्ष निकालेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए।
उनले छानबिन प्रक्रिया अघि बढिरहेकाे बेलामा सडकमा भीड जम्मा गरेर छानबिन प्रक्रियालाई प्रभावित गर्ने कुरा लोकतान्त्रिक दृष्टिकोणले उचित नभएकाे बताए।
‘स्वभाविक रुपमा छानबिन र न्यायिक निरुपणको आफ्नो विधि प्रक्रिया हुन्छ। त्यस अर्थमा छानबिन अघि बढिरहेका बेलामा सडकमा भीड जम्मा छानबिन प्रक्रियालाई प्रभावित गर्ने कुरा र अदालतलाई समेत प्रभावित गर्ने गतिविधि गर्ने खालकाे कुरा लोकतान्त्रिक दृष्टिकोणले पनि उचित हुँदैन’, उनले भने।
बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री लखेक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत सहभागी थिए।