पूर्वी स्पेनमा भीषण बाढीका कारण ९५ जनाको मृत्यु

स्पेनको पूर्वी र दक्षिणी भागमा भीषण वर्षाका कारण आएको बाढीबाट ९५ जनाको मृत्यु भएको छ।

धेरै सवारीसाधन बगेका छन् भने मालवाहक रेल पटरीबाट खसेर रेलमार्ग र राजमार्गमा यातायात अवरुद्ध भएको छ।

गाउँका गल्लीहरु खोलामा परिणत भएका छन्। देशमा हावाहुरीको प्रभाव बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वी भ्यालेन्सियामा रहेको आपतकालीन सेवाले बुधबार ५१ जनाको मृत्यु भएको पुष्टि गरेको छ। कास्टिला ला मान्का क्षेत्रको केन्द्रीय कार्यालयले कुएन्कामा ८८ वर्षीया महिलाको मृत्यु भएको पुष्टि गरेको छ।

लवे अधिकारीहरूले मलागा नजिकै ३०० जना बोकेको रेल पटरीबाट खसेको बताए। यद्यपि मानवीय क्षति भने भएको छैन। भ्यालेन्सिया सहर र म्याड्रिडबीचको उच्च गतिको रेल सेवा अवरुद्ध भएको छ।

अचानक आएको बाढीले दक्षिणमा मलागा प्रान्तदेखि पूर्वमा भ्यालेन्सियासम्म ठूलो क्षति पुर्याएको छ।  घरहरुमा कयौँ फिट पानी भरिएको देखिएको छ। प्रहरी र उद्धार सेवाहरूले घर र कारबाट मानिसहरूलाई उद्धार गर्न हेलिकप्टर प्रयोग गरेका थिए।

स्पेनको आपतकालीन कार्यदलका १ हजारभन्दा बढी सदस्यहरू बाढी प्रभावित क्षेत्रमा खटाइएको छ। स्पेनको केन्द्रीय सरकारले उद्धार कार्यमा सघाउन आपतकालीन समिति गठन गरेको छ।

प्रकाशित मिति: : 2024-10-31 11:03:00

प्रतिकृया दिनुहोस्