त्रिभुवन विमानस्थल आज देखि दैनिक १० घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको स्तरोन्नतिका लागि करिब पाँच महिना दैनिक १० घण्टा उडान बन्द गर्न लागिएको हो।

स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जानकारी गराएकाे छ। हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो। 

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी-वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ। यी काम पूरा गर्न  १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ। 

आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको छ। 

प्रकाशित मिति: : 2024-11-08 06:30:00

प्रतिकृया दिनुहोस्