आज विश्व पर्वत दिवस। हरेक वर्ष डिसेम्बर ११ तारिखका दिन विश्व पर्वत दिवस मनाउने गरिन्छ।
नेपालीको पहाडसँग वा हिमालसँग वा पर्वतका चुचुरा र बेसीहरूसँग सदियौँदेखि सम्बन्ध छ, विश्वास छ र छ सम्मान पनि। पर्वतहरूको राजधानी भनेर पनि चिनिन्छ, नेपाल। त्यसैले पनि विश्वले विश्व पर्वत दिवस मनाउने ११ डिसेम्बर हाम्रा लागि महत्त्वपूर्ण छ।
हेर्दा सुन्दर देखिने मात्र होइन, सूर्यको उदाउँदो वा अस्ताउँदो प्रकाश पर्दा मनमोहक देखिने मात्र होइन, पर्वतहरूले हाम्रो जीवनसँग अन्योन्याश्रित सम्बन्ध राख्छन्।
हिमालहरूबाट नै आउने कलकल बग्ने खोलाहरू हुन् या समुद्रबाट उडेको बादल गएर हिमालहरूमा ठोक्किएर पर्ने पानी किन नहोस्, हाम्रो जीवन र हिमालको सम्बन्ध सुन्दर छ, अति आवश्यक छ।
नेपाल भनेपछि आज पनि विश्वमा हिमालको देश भनेर चिनिन्छ। हुन पनि नेपालको कूल भूभागको १५ प्रतिशत त हिमाली क्षेत्रले ओगटेको छ।
त्यसैले पनि हामी विविधतामा धनी छौँ, हिमाली उत्पादनका विषयमा हामीले गर्व गर्न सक्ने थुप्रै विशेषता छन्। हिमाली जडीबुटीमा हामी विश्वमै धनी छौँ, विशेष छौँ।
तर, यही समयमा हामीसँग चिन्ता र चुनौतीहरू पनि बढेका छन्। विश्वमा बदलिँदो जलवायुका असर सोझै हाम्रा हिमाल र पर्वतहरूमा परिरहेका छन्, भूकम्पका कारण हाम्रा हिमालहरूको आधार हल्लिएको हुनसक्ने अनुमान गरिएका छन्।