ललितपुरमा इन्टिलिजेन्ट ट्राफिक लाइट सञ्चालनमा

ललितपुर महानगरले इन्टेलिजेन्स ट्राफिक लाइट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ।

महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडिको चोकमा राखिएको लाइटको स्विच अन गरेर उक्त लाइटको उद्घाटन गरे।

इन्टेलिजेन्स प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारीसाधनको संख्या छ, त्यतैतिर हरियो बत्ती बाल्छन्। ललितपुर महानगरले कुपण्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता लाइट जडान गरेको छ।

पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँचवटा लाइट जडान गरिएको शहरीविकास योजना महाशाखा प्रमुख तथा यो परियोजनाको प्रमुख डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए।

लाइटसँगै राखिएको भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधनको संख्या तत्काल रिड गरेर तत्कालै ट्राफिक लाइटको चिप तथा सर्भरलाई जानकारी गराउँछ। सोही आधारमा सिस्टमले जता धेरै सवारीसाधन छन् त्यतातिर हरियो बत्ती बाल्छ।

काठमाडौंतर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०–५० सेकेन्ड मात्रै पर्खे पुग्छ।

महानगरका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक व्यवस्थापन गर्न यो लाइट जोडिएको बताउँदै यो नेपालमै पहिलो भएको धारणा राखे। पाँच वर्षसम्म महानगरले मर्मत गर्न परे एक पैसा पनि खर्च गर्न नपर्ने बताए।

उनले भने, ‘ट्राफिक लाइटबीच भलाकुसारी हुन्छ, स्टपेज टाइम बढाउने, ग्रिन टाइम बढाउने घटाउने सन्दर्भमा कुराकानी हुन्छ।’ नयाँ सिस्टम भएकाले जनचेतना आवश्यक भएको बताए।

जनचेतना जगाउनका लागि नगर प्रहरी र स्कुलका विद्यार्थीलाई महानगरले परिचालन गर्ने बताए। नगर प्रमुख महर्जनले अर्को वर्ष चक्रपथ बाहिरका वडाका प्रमुख सडकमा पनि यो ट्राफिक लाइट जडान गर्ने जानकारी दिए।

यो लाइट स्वचालित भएकाले अन्य परम्परागत ट्राफिक लाइटभन्दा फरक र सहज पनि छ। यससँगै राखिएको भेइकल डिटेक्टरले सवारीसाधनको नम्बर तथा विवरण रिड गर्छ। सिस्टमले नै कुन दिशातर्फ कति टाइमिङ चाहिने हो आफैँ सेट गर्छ। हाल यसको मनिटरिङ सिस्टम ट्राफिक कार्यालयमा राखिएको छ।

यो लाइट फिक्स, पुलिस म्यानुअल, सिङ्क्रोनाइजेशन, एटिसिएसलगायत आवश्यकताअनुसारको मोडमा प्रयोग गर्न सकिने प्राविधिक सुयोसभक्त माथेमाले बताए।

उनका अनुसार यसमा पाच वर्षसम्म डेटा स्टोर हुन्छ। यो लाइटले सवारीसाधनको र दुर्घटनाको रेकर्ड समेत रहन्छ। लाइट जडान गरेको नमुना पावर ग्रेड जेभिले सुरुमा ११७ स्थानमा सम्भाव्यता अध्ययन गरेपनि हाललाई धेरै ट्राफिक हुने स्थानमा यो लाइट जडान गरिएको नगरप्रमख महर्जनले बताए।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता उपरीक्षक सञ्जयबहादुर राउतलेप्रविधि मैत्री नहँदा धेरै जनशक्ति सडकमा खटिनु परेको बताए। ६४ स्थानमा टाफिक लाइट भएपनि विभिन्न कारणले ३५ स्थानमा मात्रै सन्चालनमा रहेको जानकारी दिए।

महानगरले जडान गरेको इन्टिलिजेन्ट ट्राफिक लाइटले प्रभावकारी ट्राफिक व्यवस्थापन हुने, यात्रुको जोखिम न्यूनीकरण, व्यवस्थित सहरीकरण, दिगो विकासको लागि महानगरले जडान गरेको ट्राफिक लाइटले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

ललितपुर क्षेत्र नंं.२ का संघीय सांसद प्रेम महर्जनले ट्राफिक लाइट व्यवस्थित सहरको महत्वपूर्ण अवयव भएको बताए।

ललितपुर महानगरले जडान गरेको यो अत्याधुनिक ट्राफिक लाइटले सहरको विकास र यात्रु र सवारीसाधनको सुरक्षामा महत्वपूर्ण फड्को भएको दाबी गरे।

बागमती प्रदेशका पूर्वमन्त्री रामकृष्ण चित्रकार काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ललितपुर महानगरले जडान गरेको इन्टिलिजेन्ट ट्राफिकको भूमिका महत्वपूर्ण भएको बताए। उनले भने, ‘जनताले अनुभूति गर्ने क्षेत्रमा काम गरेकोमा महानगरपालिकालाई धेरै धेरै धन्यवाद।’

बागमती प्रदेशका श्रममन्त्री प्रेमभक्त महर्जनले ट्राफिक व्यवस्थापन पालिकाको मात्रै नभएर प्रदेशको नै समस्या भएको बताए।

ट्राफिक व्यवस्थापनका लागि ललितपुर महानगरले जडान गरेको इन्टिलिजेन्ट ट्राफिक लाइट महत्वपूर्ण फड्को भएको बताए।

प्रकाशित मिति: : 2024-12-16 12:31:00

प्रतिकृया दिनुहोस्