एनपिएलका लागि पुरस्कार घोषणा, विजेतालाई १ करोड १० लाख

Break n Links
Break n Links

नेपाल प्रिमियर लिग (एनपिएल)का लागि पुरस्कारकाे घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गरेर पुरस्कार घोषणा गरेको हो।

क्यानका अनुसार एनपिएल विजेताले १ करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउनेछन्।

एनपिएलमा लिग चरणका खेल सकिएका छन्। लिग चरणका खेल सकिएसँगै प्लेअफमा चार टिम पुगेकाे छ। जसमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स रहेका छन्।

अब बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ९ बजे हुनेछ।

अंक तालिका अनुसार चितवन तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा कर्णाली छ। समान आठ अंक भए पनि काठमाडौं गुर्खाज भने रनरेटका आधारमा प्लेअफबाट बाहिरी सकेको छ।

यस्तै बुधबारको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरको भिडन्त हुनेछ।

सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ। सुदूरपश्चिम १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। यो खेल बुधबार दिउँसो १ बजे सुरु हुनेछ।

प्रकाशित मिति: : 2024-12-17 15:48:00

प्रतिकृया दिनुहोस्