पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव सञ्चालन हुँदैछ। २४ डिसेम्बर अर्थात पुस ९ गतेदेखि ९ दिन महत्वस सञ्चालन हुनेछ। बेलुन नेपाल प्रालिको आयोजनामा पोखराको पामे क्षेत्रमा महोत्सव हुन लागेको हो।
पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउने विश्वासका साथ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ। महोत्सवमा संयुक्त राज्य अमेरिका, स्पेन लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत गरी १५ वटा देशको सहभागिता रहने जनाइएको छ।
महोत्वमा सञ्चालन खर्च ७ करोड अनुमान गरिएको छ। बेलुन नेपाल प्रालिका कार्यकारी निर्देशक सबिन मर्हजनका अनुसार महोत्सव अवधिभर दर्शकहरुको आकर्षणका लागि हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ्ग पनि आयोजना गरिएको छ।
नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोगमा क्यारिज्म्याटिक डिजिटल सोलुसनले महोत्सवको व्यवस्थापन गरेको छ। यो फेस्टिबलको संयुक्त आयोजकको रूपमा पोखरा पर्यटन काउन्सिल पनि रहेको छ।
महोत्सवको ब्राण्ड एम्बेसडरका रुपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन्।
महोत्सव अवधिभर पोखराका स्थानीय सांगितिक व्याण्डका साथै दिपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मङ्गोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ख्वप ब्याण्ड जस्ता शीर्ष नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुति दैनिक रुपमा हुनेछन्।
महोत्सवमा जानको लागि निःशुल्क रहेको छ भने बेलुन राईड, फुड स्टल तथा सांगितिक प्रस्तुतीहरुमा सहभागी हुनका लागि आयोजक बेलुन नेपालले शुल्क तोकेको छ। बेलुन नेपालका निर्देशक विष्णु ढकालका अनुसार बेलुन राईडका लागि नेपालीहरुका लागि ११ हजार रुपैयाँ टिकटको मुल्य तोकिएको छ।