सरकारले जनतालाई ऋणको भारी बोकाएर राज्यको ढुकुटी लुटिरहेको छ: प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको मनोमानी कर प्रणालीले मुलुकको उद्योग, व्यापार ध्वस्त हुँदै गइरहेको टिप्पणी गरेका छन्।

तीन तहको सरकारको मनोमानी कर एवं लुटतन्त्रले उद्योगी, व्यापारी, सर्वसाधारणलगायत समस्यामा पर्दै गइरहेको उनले बताए।

काठमाडौँको कोटेश्वरस्थित आजपाको केन्द्रीय कार्यालयमा साेमबार आम विद्यार्थी मोर्चाको काठमाडौँ उपत्यका विशेष कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारको मनोमानी करको विरुद्धमा सडक संघर्षको विकल्प नभएको बताए।

‘सरकार लुटतन्त्रमा व्यस्त छ। जहाँबाट हुन्छ लुटने धन्दामा लागेको छ। सरकारले उद्योगी, व्यापारी, सर्वसाधारणलाई लुटिरहेको छ। राज्यको ढुकुटी सिध्याइसकेको सरकार अहिले विदेशीसंग ऋण लिएर त्यसमा पनि लुटने काम गरिरहेको छ। नेपाली जनतालाई ऋणको भारी बोकाएर राज्यको ढुकुटी लुटिरहेको सरकारले मनोमानी कर लगाएको छ। हरेक क्षेत्रमा मनोमानी करले सबै क्षेत्र तहसनहस भएको छ। सर्वसाधारणले जीवन जिउन कठिन भइरहको छ। तर सरकारले करमाथि कर लगाएर नेपाली जनताको ढाड सेक्ने काम गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने।

सरकारको मनोमानी कर आंकत, लुटकारी दलतन्त्रको विकल्प नेपाली जनताले खोजिरहेको बताउँदै उनले वैदेशिक रोजगारीमा भइरहेको ठगी धन्दाको विरुद्धमा अब सडक आन्दोलनको विकल्प नभएको उनले बताए।

सरकारको मनोमानी कर आतंक, लुटकारी दलतन्त्र लगायतको विरोधमा यही १४ पुसमा हुने काठमाडौँमा विशेष प्रदर्शनमा सहभागी हुन आजपा अध्यक्ष साहले आह्वानसमेत गरेका छन्।

प्रकाशित मिति: : 2024-12-24 10:37:00

प्रतिकृया दिनुहोस्