सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।
रौतहटको बडहर्वाबाट काठमाडौँ जाँदै गरेको बसले ठक्कर दिँदा सर्लाहीको छटौना सशस्त्र वेस क्याम्पमा कार्यरत रहेका ४० वर्षीय सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक रबीन्द्रबहादुर सिंहका अनुसार काठमाडौँका लागि छुटेका बा–प्रदेश–०१००६ख २००४ नम्वरको यात्रुबाहक बसले ठक्कर दिँदा सशस्त्र प्रहरी निरीक्षक तुलाधर गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते तुलाधरलाई प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले जानकारी दिए। फिल्ड गस्तीबाट क्याम्पतर्फ फर्किँदै गरेको अवस्थामा गएको बेलुका करिब ८ बजे बेस क्याम्प अगाडि नै बसले ठक्कर दिएको उनले बताए।
ठक्कर दिने बसका सहचालक सर्लाही धनकौल गाउँपालिका वडा नम्वर १ का २२ वर्षीय विकास कुमार बैठा, बलरा नगरपालिका-१० का १९ वर्षीय अजित बैठा र बलरा-१० कै २३ वर्षीय प्रेम शङ्कर यादवलाई नियन्त्रण लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
काठमाडौँ महानगरपालिका निवासी तुलाधरको शवलाई प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।