एसका नेतालाई पार्टी प्रवेश गराउँदै प्रचण्ड, भन्छन्- माओवादीको पक्षमा देशव्यापी लहर सुरु

Break n Links
Break n Links

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन्।

नेकपा माओवादी केन्द्र चितवनले गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका हुन्।

अध्यक्ष प्रचण्डले अहिले देशभरी माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताए।

आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरूले सरकारबाट हटाएको जनताले प्रष्ट रुपमा बुझिसकेको उल्लेख गर्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गरिएको बताए।

सरकारमा रहेर थालिएको सुधारको नयाँ थालनी, सरकारबाट निस्केपछि देशव्यापी रुपमा लिइएको पहलकदमी तथा सदन र सडकमा विपक्षी मोर्चाको तर्फबाट देश र जनताको पक्षमा लिइएको पहलकदमीले जनतामा नयाँ आशाको जागृत हुँदै गरेको उनले जानकारी दिए।

आफूहरू एकीकृत समाजवादीसँग समाजवादी मोर्चा र बिपक्षी मोर्चामा रहेर सहकार्य गरिरहेको उल्लेख गर्दै यो प्रवेश र ध्रुवीकरणले कुनै असर नपार्ने बताए। बरु यसले माओवादी र एकीकृत समाजवादीबीचको एकता प्रक्रियालाई सहज बनाउने विश्वास पनि व्यक्त गरे।

 एकीकृत समाजवादका नेता कार्यकर्ता माओवादी केन्द्रमा

सो क्रममा प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने (लब्ली)को नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने सयौं नेता कार्यकर्तालाई स्वागत गरेका थिए।

दुईपटक कार्यवाहक जिल्ला अध्यक्ष भएर पार्टी सञ्चालन गरिसकेका पुराना बामपन्थी नेता न्यौपाने हाल एकीकृत समाजवादीको बागमति प्रदेश सदस्य थिए।

त्यस्तै एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमति प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरू राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराईलगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

प्रकाशित मिति: : 2025-02-01 14:04:00

प्रतिकृया दिनुहोस्