अमेरिकाले नेपालीलाई भन्यो, ‘आफ्ना प्रियजनलाई जोगाउनुहोस्’

Break n Links
Break n Links

अमेरिकाले आफ्ना ‘प्रियजन’लाई सुरक्षित राख्नका नेपाली नागरिकलाई आह्वान गरेको छ। अमेरिकाले ‘अवैध आप्रवासी’ ठहर्‍याएका नौ जना नेपालीलाई आफ्नै बिमान चार्टर गरेर नेपाल छोडेको दुई दिनपछि काठमाडौंस्थित नेपालका लागि अमेरिकी दूतावासले यस्तो अपिल गरेको हो। 

सामाजिक सञ्जालमा एउटा सूचना जारी गर्दै दूतावासले सुरुमै आफ्ना विदेशमन्त्री मार्को रुबियोको भनाइ उल्लेख गरेको छ। 

त्यसमा भनिएको छ ‘अवैध आप्रवासन अन्त्य गर्न र अमेरिकी सीमा सुरक्षाको हाम्रो प्रतिवद्धतामा हामी अटल छौं।’ यो भनाइ अमेरिकी विदेशमन्त्रीको हो। 
 
‘धेरै नेपालीले अमेरिकामा काम गर्ने वा बस्ने सपना देख्छन्, तर अवैध आप्रवासन खतरनाक छ र यसले जीवनलाई नष्ट गर्न सक्छ। हरेक वर्ष, धेरैले रोजगारीका अवसरहरू र भिसाको झूटा वाचा गर्ने एजेन्टहरूलाई विश्वास गरेर आफ्नो जीवन र पैसा जोखिममा पारिदिन्छन्’ दूतावासले आफ्नो अपिलमा भनेको छ ‘धेरैले बाटोमा नजरबन्द, निर्वासन, आपराधिक दण्ड वा जीवनका धम्कीपूर्ण जोखिमहरूको सामना गरिरहेका छन्। आफूलाई र आफ्ना प्रियजनहरूलाई सुरक्षित राख्नुहोस्। जोखिम नलिनुहोस्।’

दोस्रो कार्यकालका राष्ट्रपतिको पदभार सम्हालेलगत्तै आप्रवासीप्रति कडा नीति अपनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसका लागि कार्यकारी आदेश पनि जारी गरिसकेका छन्। त्यहीअनुसार अमेरिकाले चरणवद्धरुपमा आप्रवासीहरूलाई सम्बन्धित देश फिर्ता गरिरहेको छ। 

अमेरिकामा हजारौं नेपाली ‘अवैध आप्रवासी’का रुपमा छन्। अमेरिकी सरकारको ब्याख्याअनुसार उनीहरूलाई जुनसुकैबेला नेपाल डिपोर्ट गर्नसक्छ। 

त्यसअनुसार ट्रम्पले केही दिनअघि जारी गरेको एउटा सूचीमा करिब १३६५ जना नेपाली पनि थिए। तीमध्ये नौ जनालाई बुधबार अमेरिकी बिमानले नै नेपाल ल्याएर छोडेको हो। 


 

प्रकाशित मिति: : 2025-03-07 18:44:00

प्रतिकृया दिनुहोस्