- अमृत गिरी
इन्जिनियर कल्पना अधिकारीको नेतृत्वमा राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजना कालीगण्डकी करिडोरको गैंडाकोट-राम्दी-मालढुंगा खण्डको धमाधम विस्तार भइरहेको छ।
त्रीदेशीय (नेपाल-भारत-चीन) सडकको एउटा मुख्य खण्डको विकासले तीव्रता पाइरहेको छ। दुर्गम क्षेत्रका सडकलाई मापदण्डअनुसार निर्माण गर्दै, यातायात सहज बनाउन उनले महत्वपूर्ण योगदान पुर्याइरहेकी छन् इ. अधिकारीले।
इन्जिनियर कल्पनाको सबल नेतृत्व
नेपालले दुई छिमेकी मुलुक भारत र चीनलाई जोड्दै कालीगण्डकी करिडोरका रुपमा त्रिदेशीय सडक निर्माण गरिरहेको छ। राष्ट्रिय गौरवको यो आयोजनाको महत्वपूर्ण खण्डको सफल नेतृत्व गरिरहेकी इन्जिनियर कल्पना अधिकारी एक ‘आइकोन इन्जिनियर’ मध्येकी हुन्।
विगत १४ वर्षदेखि सडक विभागका विभिन्न क्षेत्रमा इन्जिनियरको काम गरिरहेकी कल्पनालाई इमानदार र सक्षम राष्ट्रसेवक इन्जिनियरका रुपमा सेवाग्राहीको सिफारिसमा हालै महत्वपूर्ण अवार्डसमेत प्राप्त भएको थियो।
दुर्गममा मात्रै होइन कठिनाइ र धेरै चुनौतिहरू भएका आयोजनामा पनि महिलाले सफल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरणका रुपमा कल्पनालाई नै लिइन्छ।
इन्जिनियर कल्पनाको नेतृत्वमा कालीगण्डकी करिडोरको गैंडाकोट-राम्दी-मालढुंगा खण्डको विकासले तीव्रता पाइरहेको छ। उनी इन्जिनियर एशोसिएशनको महिला वेलफेयर विभागको प्रमुखसमेत हुन्।
उनले महिला सशक्तीकरण, सामाजिक उत्तरदायित्वका क्षेत्र र खासगरी किशोरीलक्षित सफलताका प्रेरक प्रसंगका क्षेत्रमा समेत काम गर्दै आएकी छन्।
पाल्पाको माथागढीमा जन्मिएकी कल्पनाले ०६४ सालमा पुलचोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियर पास गरेकी थिइन्। ०६८ मा सोही विषयमा मास्टर्स पास गरिन् र सोही वर्ष निजामति सेवामा प्रवेश गरिन्। सुरुमै उनी सडक विभागमा काम गर्न पुगिन्।
त्यसपछि सडक सुधार तथा विस्तार आयोजनाअन्तर्गतको महत्वपूर्ण आयोजनामा कामु प्रमुखका रुपमा उनी दिपायलसम्म पुगिन्। दिपालयमा काम गरेपछि उनी अर्को प्रमुख आयोजना कालीगण्डकी करिडोरमा पुगिन् र त्यहाँ पनि उनी कामु प्रमुख बनिन्। ०७९ फागुनमा उनी सिनियर डिभिजनल इन्जिनियरका रुपमा बढुवा भइन्।
उनको कार्यशैली, चुनौतीको सम्बोधन र समस्याको समाधानको क्षमता देखेर विभागमा उनलाई अब्बल दर्जामा राखियो। उनी पुष्पलाल मध्यपहाडी लोकमार्गमा आयोजना प्रमुख भएर काम गरिन्। सोही क्रममा ०७० सालतिर उनलाई कास्कीमा सडक विस्तारका क्रममा आक्रमणको प्रयाससमेत भयो। केही स्थानीयले हुलहुज्जत गरेर इन्जिनियरहरूमाथि आक्रमण प्रयास गरेका थिए।
सडक क्षेत्राधिकारको क्षेत्र खाली गराएर सडक विस्तार गर्नुपर्ने अली कठिनको काममध्ये त्यो पनि थियो। त्यहाँ उनीसहितका इन्जिनियरलाई प्रहरीले रेस्क्यु गरेर ल्याएको थियो। त्यहाँको सफल नेतृत्वले उनलाई फेरि कालीगण्डकी करिडोरमै आयोजना प्रमुख बनायो।
कालीगण्डकी करिडोर विसं. २०६५/०६६ मा सुरु भएको राष्ट्रिय गौरवको आयोजना हो। त्यसअघि परिकल्पना गर्दै त्यत्तिकै रोकिएको सडकलाई ०६७ मा आयोजना कार्यालय नै स्थापना गरेर राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने काममा तत्कालीन मन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीको विशेष योगदान र भूमिका छ। उनकै पहलमा सपनाको राजमार्ग विपनामै परिणत हुने अवस्था पुगेको छ।
यो आयोजनाअन्तर्गत गैंडाकोटदेखि बाग्लुङको मालढुंगासम्म २ सय ४० किमी र कालीगण्डकीको पारी पर्वत खण्डमा कालीगण्डकी लोकमार्ग ५३ किमी गरी कुल २ सय ९३ किमी सडक पर्छ।
यसको कुल बजेट २० अर्बभन्दा धेरै छ भने चालू आवमा मात्रै करिब सवा अर्ब बराबरको काम भइरहेको छ। ०७९/८० मै सकिनुपर्ने आयोजना कोभिड महामारीलगायतका समस्याले अबरुद्ध भयो। पछि यस्ता आयोजनाहरूको अवधि थप गरियो। अब यो आयोजना आगामी आव ०८३/८४ मा सकिनेगरी काम भइरहेको छ।
पूर्वाधार विकासमा नेतृत्वदायी भूमिका
नेपालका एसिया स्तरका राजमार्ग, राष्ट्रिय गौरवका आयोजना तथा रणनीतिक सडकहरूको विकासमा महिला इन्जिनियरहरूले उदाहरणीय नेतृत्व गरिरहेका छन्।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवलकी प्रमुख सहसचिव इन्जिनियर निशा रिजाल, राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर आयोजना (गैंडाकोट-राम्दी-माल्ढुंगा) की प्रमुख इन्जिनियर कल्पना अधिकारी, बुटवल-गोरुसिंगे रणनीतिक सडक आयोजनाकी प्रमुख इन्जिनियर कुशलता न्यौपाने र बुटवल-नारायणगढ ‘रणनीतिक एक्सप्रेस-वे’सडक विस्तार आयोजनाकी प्रमुख इन्जिनियर अनुक्षा घिमिरे जस्ता प्रतिभाशाली महिलाहरूले देशको भौतिक पूर्वाधार विकासलाई नयाँ उचाइमा पुर्याइरहेका छन्।
चुनौतिपूर्ण परियोजनाहरूको सफल कार्यान्वयन गर्दै यी इन्जिनियरहरूले नेपालमा महिला नेतृत्वको शक्ति र दक्षता कलिलै उमेरमा प्रमाणित गरेका छन्।