संक्रमणकालीन न्याय टुंग्याउन तीन दलबीच जुट्यो सहमति, नयाँ सर्च कमिटी गठन गरिने

Break n Links
Break n Links

सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि अर्को सर्च कमिटी बनाउने सहमति जुटेको छ।

छलफलपछि संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्नेगरी समिति गठन गर्न तीन दल सहमत भएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहितका नेताहरूबीचको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति जुटेको बैठकमा सहभागी प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले बताए।

उनले भने, ‘केही समयअगाडि दुइटै आयोग गठनका निम्ती सर्च कमिटी बनेको थियो। सिफारिस समितिले प्रतिवेदन दिएको थियो। त्यो प्रतिवेदन पनि राखियो। दलहरूकाबीचमा सहमति निर्माण गरेर जाने विगतको परम्पराजस्तै तीन दलका शीर्ष नेता बसेर छलफल गर्नुभयो। त्यसमा हामी एउटा निष्कर्षमा हामी पुगेका छौं।’ 

खरेलले तीन दलको छलफलमा शान्ति प्रक्रियाको बाँकी काम अगाडि बढाउन सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठन गर्ने विषयसँग गासिएकाले दुुईवटा आयोग गठन गर्न सर्च कमिटी बनाइने उनले बताए।

‘वेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तको लागि सिफारिस समिति, सर्च कमिटि गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरुसँग परामर्श गर्नुभयो र परामर्श अनुसार सिफारिस समितिको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने।

सिंहदरबारमा बसेको छलफलमा तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेललगायतका नेताहरू पनि सहभागी थिए।

शान्ति प्रक्रियाका बाँकी काम सक्नको लागि संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउन दुई आयोगका पदाधिकारी नियुक्तिको लागि सर्च कमिटी गठन गर्ने सहमति भएसँगै दुई आयोग सक्रिय हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2025-03-24 18:05:00

प्रतिकृया दिनुहोस्