अमेरिका र चीनबीचको ब्यापार युद्ध केही मत्थर हुने संकेत देखिएको छ। दुई दिनदेखि जेनेभामा जारी दुबै पक्षका प्रतिनिधिहरूबीच लगभग सहमति भएको छ। त्यो ब्यापार सम्झौताको औपचारिक घोषणा भने आज गरिने भएको छ।
चिनियाँ प्रतिनिधिहरूसँगको वार्ता र संवादपछि अमेरिकी सेक्रेटरी अफ ट्रेजरी स्कट बसेन्ट ‘मलाई यो भन्दै गर्दा निकै खुसी लागेको छ कि हामीले चीनसँग एउटा महत्वपूर्ण सम्झौता गरिसकेका छौं। यसको जानकारी ट्रम्पलाई पनि गराइसकिएको छ। र हामी यसलाई औपचारिकरुपमै घोषणा गर्नेछौं।’
प्रतिनिधिहरूले दुबै देशबीचको मतभेद सोचिएजस्तो ठूलो नभएको र सामान्य असझदारीहरू अब समाप्त भएको बताएका छन्।
दोस्रोपटक राष्ट्रपति भएसँगै भन्सार कर नीतिमा डोनाल्ड ट्रम्प निकै कडारुपमा प्रस्तुत हुँदै आएका थिए। उनी सबैभन्दा चीनप्रति नै आक्रामक देखिए। चिनियाँ वस्तुमाथि उनले १४५ प्रतिशतसम्म कर लगाइदिएका थिए। त्यस्तै चीनले पनि अमेरिकी सामग्रीमाथि १२५ प्रतिशत कर पुर्याइदिएको थियो।
जेनेभामा भएको यो वार्तामा चीनका तर्फबाट उपप्रधानमन्त्री ली फिङ र उप वाणिज्यमन्त्री ली चीङगाङ्ग सहभागी भएका थिए। सम्भवत: चीन र अमेरिकाले आज संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौताहरू सार्वजनिक गर्नेछन्।
दुई देशबीच चलिरहेको यो ब्यापार युद्धका कारण पूरै विश्वअर्थतन्त्रबारे चिन्ता व्यक्त भएको थियो।