प्रचण्डलाई ओलीको फोन, प्रचण्डले भने- विपक्षीहरूको अडानमा प्रतिवद्ध छु

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन्।

ओलीले प्रचण्डलाई फोन गरेर सदनको अवरोध हटाउन सहयोग गर्न आग्रह गरेका माओवादी सांसद माधव सापकोटाले बताए। प्रचण्डले विपक्षी दलहरूको अडान सुनाउँदै आफू विपक्षीहरूको अडानमा प्रतिवद्ध रहेको जवाफ फर्काएका उनले बताए।

प्रचण्डले पहिले गृहमन्त्रीको राजीनामा गराएर अनि आफैंले सदनमा जवाफ दिन ओलीलाई सुझाव दिएका छन्।

बालुवाटारमा कांग्रेस सभापति देउवा र गृहमन्त्री रमेश लेखकसँग छलफलका क्रममा ओलीले रास्वपाको अवरोध उसको सभापतिका कारण स्वाभाविक भएपनि प्रचण्डको पछिल्लो गतिविधिहरूबारे असन्तुष्टि जनाएका थिए। बालुवाटार स्रोतका अनुसार उनले प्रचण्डले धुमिल अवस्थामा चान्स मार्न खोजेको आरोप लगाएका थिए।

स्रोतका अनुसार ओलीले लेखकलाई सम्भव भएसम्म प्रचण्ड वा माओवादी नेताहरूसँग आफ्नो कुनै संयन्त्रमार्फत कुराकानी गर्न पनि सुझाव दिएका थिए। तर, ओलीले प्रचण्डलाई आफैं फोन गरेर सदनको अवरोध खुलाउन सहयोग गर्न आग्रह गरेका छन्।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने विपक्षीहरूको अडानले संसद अवरुद्ध छ। भोलि जेठ १५ गते संघीय संसदमा बजेट अनिवार्य पेस गर्नुपर्ने संवैधानिक बाध्यता छ।

प्रकाशित मिति: : 2025-05-28 12:49:00

प्रतिकृया दिनुहोस्