काठमाडौं केन्द्रित भए राजावादी, ‘राजा फर्काएरै’ छोड्ने

राजसंस्था पुन:स्थापना र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विभिन्न राजावादी संघसंस्थाहरूले आज पनि प्रदर्शन गर्ने भएका छन्। 

जेठ १५ गते पनि उनीहरूले शान्तिबाटिकामा प्रदर्शन गरेका थिए। गणतन्त्र घोषणा भएकै दिन उनीहरूले त्यो प्रदर्शनलाई ‘जनआन्दोलनको सुरुवात’ पनि भनेका छन्। जेठ १५ गतेलाई नै राप्रपाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँछ। 

आज पनि उनीहरूले माइतीघरमा प्रदर्शन र नारा जुलुस गर्ने भएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशभरिबाट आएकाहरूलाई काठमाडौंमै बस्नेगरी योजना बनाउनका लागि आह्वान गरेका थिए। त्यस्तै उनले राजधानीवासीलाई पनि साथ दिन अपिल गरेका छन्। 

‘देशभरिबाट आउनुभएका हाम्रा साथीहरूलाई म काठमाडौं नछोड्न आग्रह गर्दछु’ बिहीबारको प्रदर्शनका क्रममा उनले भनेका थिए ‘यहाँ मैले धेरै राजधानीवासीहरूलाई पनि देखिरहेको छु। राजसंस्था नफर्किएसम्म यहाँहरूले पनि साथ दिनुहोला भन्न चाहन्छु।’ 

यो आन्दोलनमा कमल थापा नेतृत्वको राप्रपा पनि मिसिएको छ। त्यस्तै राजावादीहरूले गठन गरेको ‘संयुक्त जनआन्दोलन समिति’ले पनि राप्रपा नेतृत्वकै आन्दोलनलाई स्वीकार गरेको छ। त्यसका संयोजक नवराज सुवेदी छन्। 

राजावादीहरूले अब काठमाडौंमै केन्द्रित भएर निरन्तर आन्दोलन गर्ने जनाएका छन्। 
 

प्रकाशित मिति: : 2025-05-30 08:53:00

प्रतिकृया दिनुहोस्