क्यानडाका नेपाली नानी-बाबुले मःम बेचेको पैसा नेपालका हावाहूरीपीडितलाई सहयोग

क्याबात् नानी-बाबुहरू, शरीर मेड इन क्यानडा भए पनि मन त नेपाली नै हो।तस्वीर: बीएल

क्यानडा बस्ने नेपाली समुदायका बालबालिकाले मःम बिक्री गरेर जुटाएको रकम बारा–पर्साका हावाहुरीपीडितलाई सहयोग गर्ने भएका छन्।यसलाई ठूलो आर्थिक सहयोग नभई ‘नेपालीले नेपालीलाई आपतविपद् पर्दा जहा“सुकैबाट हेर्ने’ भावनात्मक सहयोगका रुपमा लिइएको छ।

टोरन्टोको गुएल्फ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बालबालिकाले छुट्टीका बेला मःम बनाउन सिकेर आफ्नै समुदायमा बिक्री गरेको रकम हावाहूरीपीडितलाई पठाउन लागिएको हो। उनीहरुले मःम बिक्री गरेर संकलन गरेको रकममा अरु ठूला नेपाली विद्यार्थी तथा नेपाली अभिभावकले पनि रकम थपिदिनेक्रम छ।

वेलिङ्टन क्याथोलिक डिष्ट्रिक स्कुल बोर्डअन्तर्गतको सेन्ट फ्रान्सिस् अफ् एसिसी इलिमेन्ट्री स्कुलकी शिक्षिका निभा श्रेष्ठको अगुवाईमा नेपाली समुदायका बालबालिकाले मःम बनाएर बिक्री गरेका थिए। ‘मार्च ब्रेक’ मा फुर्सदिला बनेका बालबालिकालाई मःम बनाउन सिकाएर स्वयंसेवकमार्फत बिक्री गरिएको थियो।

‘मार्च ब्रेक’ को फुर्सदमा नेपालीमूलका विद्यार्थीलाई केही व्यवहारिक र सिर्जनात्मक कुरा सिकाउने सन्दर्भमा मःम बनाउने आइडिया निस्किएको थियो’ उक्त स्कुलमा नेपाली कक्षाकी शिक्षिका श्रेष्ठले भनिन्, ‘त्यसरी मःम बिक्रीबाट आएको रकममा अरु थपथाप गरेर नेपालका हावाहूरीपीडितलाई पठाउन लागिएको हो।’

उक्त स्कुलमा १२ जना नेपालीमूलका बालबालिकालाई हरेक शनिवार नेपाली पढाउँदै आएकी श्रेष्ठले यस्तो सहयोगले यहाँका बालबालिकालाई नेपाल र नेपालीप्रति भावनात्मकरुपमा नजिक्याईरहने विश्वास गरेकी छन्। ‘हाम्रो प्रयास मन पराएर युनिभर्सिटी अफ् गुएल्फमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संगठनले एक सय ५० डलर थपिदियो’ उनले सुनाइन्, ‘जम्मा ३ सय डलर पुगेको छ।’

नेपाली नयाँ बर्ष २०७६ को उपलक्ष्यमा गुएल्फमा आइतवार हुने कार्यक्रममा पनि हावाहूरीपीडितका लागि सहयोग जुटाइने बताइएको छ ‘संकलन भइसकेको तीन सय क्यानेडियन डलरमा नयाँ बर्षको जमघटमा अरु केही थपिएला’ श्रेष्ठले भनिन्, ‘त्यसरी उठेको सबै रकम जतिसक्दो चाँडो हावाहूरीपीडितलाई पठाइनेछ।’ गुएल्फ क्षेत्रमा झण्डै ३० नेपाली परिवार बसोबास गर्छन्।

झण्डै तीन दर्जन नागरिकको ज्यान जाने गरी आएको हावाहूरीले बारा पर्सामा सयौं घाइते भएका थिए । उनीहरुको सहयोगनिम्ति एनआरएनए क्यानडाले पनि गोफण्डमीमार्फत रकम संकलन गर्दैछ।गुएल्फ क्षेत्रका नेपाली समुदायका बालबालिकाको प्रयासलाई क्यानडाका नेपालीले मन पराएका छन्।

प्रकाशित मिति: : 2019-04-14 02:25:52

प्रतिकृया दिनुहोस्