इराकको राजधानी बग्दादमा तीनओटा बम विस्फोटन, कम्तीमा ६ जनाको मृत्यु

फाइल तस्बिर: बिएल

इराकको राजधानी बग्दादमा तीनओटा बम विस्फोटन हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। इराकी गृहमन्त्रालयका अनुसार मङ्गलबार बेलुका भएको सो घटनामा परी अरु १७ जना घाइते भएका छन्।

‘हामीलाई प्राप्त जानकारी अनुसार अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन्,’ एक प्रहरी अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा भने।

बग्दादमा मङ्गबार बेलुकाको समयमा तीन ओटा बम विस्फोट भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन्। एउटा मोटरसाइकल बम चर्चित बजार अल शाबमा विस्फोट भएको थियो। सो ठाउँ बग्दादको उत्तरपू्र्वी क्षेत्रमा पर्दछ।

अर्को विस्फोट बग्दादको दक्षिणपूर्वी क्षेत्रमा पर्ने अल बैया क्षेत्रमा भएको समाचारमा जनाइएको छ। जहाँ चार जना घाइते भएका थिए। तेस्रो विस्फोट भने अल बालाडियटमा भएको हो। राजधानी बग्दादको पूर्वी क्षेत्रमा पर्ने यस ठाउँमा भएको विस्फोटनमा परी थप चार जना घाइते भएका थिए।

विस्फोटनको घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन्। तर यस क्षेत्रमा इस्लामिक स्टेट (आईएस) का लडाकूहरुले यसअघि धेरै हिंसात्मक घटना गराएकाले यो घटनामा पनि उनीहरुकै संलग्नता रहेको हुन सक्ने कतिपयको आशंका छ।

प्रकाशित मिति: : 2019-11-27 14:29:55

प्रतिकृया दिनुहोस्