नेकपामा नेपाल समूह हावी, स्कुल विभागमा अझै विवाद

तस्बिरः एजेन्सी

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जका टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले ७७ जिल्ला इन्चार्ज र सहइन्चार्जका साथै छ महानगरपालिकाका इन्चार्जको टुंगो लगाएको हो। पार्टी एकीकरण भएको एक वर्षपछि टुंगो लागेको जिल्ला इन्चार्जमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष हावी देखिएको छ।

तत्कालीन एमालेको भागमा परेका ५० इन्चार्जमध्ये नेपाल पक्षधर नेताहरुले २१ जिल्लासहित २४ इन्चार्ज हात पारेका छन् भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली निकट नेताहरुले १९ जिल्लासहित २० इन्चार्ज भेटेका छन्। त्यस्तै तत्कालीन माओवादीको भागमा परेका ३१ इन्चार्जमध्ये पुष्पकमल दाहाल निकटका २२ र नारायणकाजी श्रेष्ठनिकटका ४ नेताले इन्चार्जको जिम्मेवारी पाएका छन्। पाँच जिल्ला इन्चार्ज भने ओली र नेपालसँग सुमधुर सम्बन्ध राख्ने नेताले हात पारेका छन्। नेता ईश्वर पोखरेल निकटका कसैले पनि इन्चार्जको जिम्मेवारी पाएनन्।

पार्टीमा पछिल्लो समय शक्तिशाली बन्दै गएको आकलन गरिएका नेता रामबहादुर थापा निकटका ४ र नेता वामदेव गौतम निकटका ४ जना इन्चार्ज बनेका छन्। गृहमन्त्रीसमेत रहेका थापा प्रदेश र जिल्ला कमिटी गठनमा हावी भएका थिए। नेपाल समूहले ताप्लेजुङ, झापा, मोरङ, तेह्रथुम, संखुवासभा, सिरहा, ओखलढुंगा, उदयपुर, पर्सा, मकवानपुर, रामेछाप, लम्जुङ, मुस्ताङ, पाल्पा, बर्दिया, जाजरकोट, डोल्पा, मुगु, कञ्चनपुर, अछाम र बाजुरा जिल्लाको इन्चार्ज पाएको छ। यस्तै वीरगन्ज महानगरपालिका, ललितपुर महानगरपालिका र काठमाडौ महानगरपालिकाको इन्चार्जको जिम्मेवारी पनि नेपाल पक्षधर नेताले पाएका छन्। अध्यक्ष ओली पक्षधर नेताहरुले सुनसरी, खोटाङ, सप्तरी, चितवन, नुवाकोट, काभ्रे, मनाङ, गुल्मी, स्याङ्जा, नवलपरासी पश्चिम, रुपन्देही, पर्वत, अर्घाखाँची, रुकुम पूर्व, सुर्खेत, बैतडी र डोटी जिल्लाको इन्चार्ज पाएका छन्। पोखरा महानगरपालिकाको इन्चार्ज पनि ओली समूहको हात लागेका छ।

प्रकाशित मिति: : 2019-07-22 06:59:41

प्रतिकृया दिनुहोस्