इराकमा सरकारविरोधी प्रदर्शन र सुरक्षाकर्मीबीच झडप,कम्तीमा १५ जनाको मृत्यु

तस्बिरः एजेन्सी

इराकमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा बिहीबार भएका हिंसामा कम्तीमा १५ जनाको ज्यान गएको छ।

बीबीसीका अनुसार प्रदर्शनकारीले दक्षिणी सहर नसिरियास्थित दुइटा पुलमा अवरोध पुर्‍याएपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए। त्यस क्रममा कम्तीमा १ सय ५० जना घाइते छन्। प्रदर्शन रोक्न सेना परिचालन गरिएपछि हताहत हुनेको संख्या बढेको हो।

इराकमा रोजगार तथा सार्वजनिक सेवा सुधारको माग गर्दै अक्टोबर एकदेखि नियमितजसो प्रदर्शन गरिँदै आएको छ।

यसअघि इराकी प्रधानमन्त्री अदेल अब्दुल महदीले जनताले शान्तिपूर्वक विरोध तथा प्रदर्शन गर्न पाउने तर ‘हिंसा स्वीकार गर्न नसकिने’ बताएका थिए। महदी प्रधानमन्त्रीमा चयन भएको एक वर्षभन्दा केही बढी भएको छ। उनले प्रदर्शनकारीलाई सम्बोधन गर्दै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तथा सुधारका कार्यक्रम ल्याउने बताए पनि विरोध रोकिएको छैन।

प्रदर्शनका सहभागीमध्ये अधिकांश युवा तथा बेरोजगार रहेका बीबीसीले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-29 14:04:24

प्रतिकृया दिनुहोस्