राष्ट्रपतिको सम्मानमा स्वागत समारोह

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार साँझ आफ्नो सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी भइन्।

संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की र राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्तरूपमा स्वागत समारोह आयोजना गरेका थिए।

समारोहमा न्यूयोर्कस्थित कूटनीतिक समुदाय, संयुक्त राष्ट्रसङ्घका पदाधिकारी, व्यापारिक समुदाय र नेपाली समुदायका प्रतिनिधिको उपस्थिति थियो ।

राष्ट्रपति भण्डारी भोलि शुक्रबार अपराह्न काठमाडौं आइपुग्ने कार्यक्रम छ।

यसैबीच महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बुधबार नै अधिवेशनमा मन्तव्य व्यक्त गर्दै लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेको प्रगति र त्यसप्रतिको नेपालको प्रतिबद्धता प्रस्तुत गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

लैङ्गिक विभेद अन्त्यका लागि आवश्यक कानून संशोधन गरेको जानकारी दिँदै उनले दिगो विकासको लक्ष्य हासिल गर्न र महिला तथा किशोरीहरुको सशक्तीकरणका निम्ति अन्तर्राष्ट्रिय सङ्गठनहरुसँग निकट सम्पर्कमा रहेर काम गर्न नेपाल प्रतिबद्ध रहेको बताइन्।

त्यसैगरी प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरूदेवी पालले बेइजिङ घोषणाको कार्यान्वयनमा शीघ्रता विषयको उच्चस्तरीय संवादमा भाग लिँदै उक्त घोषणाको अक्षरशः कार्यान्वयनमा जोड दिइन्।

प्रकाशित मिति: : 2019-03-14 09:20:57

प्रतिकृया दिनुहोस्